काठमाण्डौ,२७ बैशाख ।
संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले हालै गएकोे विनाशकारी भूकम्पका कारण नेपालका झण्डै १० लाख बालबालिका स्कुल जानबाट बन्चित भएको जनाएको छ ।
युनिसेफका अनुसार भूकम्पका कारण २४ सय भन्दा बढी कक्षाकोठा पुर्णरुपमा क्षति भएका छन भने केहीमा आंशिक क्षति पुगेको छ । तत्काल बैकल्पिक व्यवस्था नगर्ने हो भने ९ लाख ९० हजार बालबालिका स्कुल जानबाट बन्चित हुने युनिसेफले जनाएको छ ।
भूकम्पपछि प्रभावित जिल्लाहरुको सबै स्कुल बन्द गरिएको छ । उपत्यकाका सरकारी तथा निजी विद्यालयहरु जेठ १ गतेबाट सञ्चालन गर्ने तयारी छ । तर, सिन्धुपाल्चोक, गोरखा, रामेछाप, काभ्रे, धादिङ, नुवाकोट लगायतका भूकम्पबाट अति प्रभावित जिल्लाहरुका बालकालिकाको हकमा के गर्ने भन्ने कुनै निर्णय हुन नसकेको बताइएको छ ।
सिन्धुपाल्चोक, गोरखा र नुवाकोटमा ९० प्रतिशत स्कुलका भवन भत्किएका छन । भूकम्प प्रभावित बालकालिकाहरुलाई स्कुल फर्काउन सक्दो सहयोग गर्ने युनिसेफले बताएको छ ।