जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लामा पहिलो पटक आधुनिक पोलिग्राफ परीक्षण विधिबाट अपराध अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धान समाप्त भैनसकेका र विभिन्न जघन्य अपराधका आरोपितलाई अनुसन्धानका क्रममा सोधिएका प्रश्नहरु सही वा गलत उत्तर दिए भन्ने विद्युतीय माध्यमबाट पत्ता लगाउने पोलिग्राफ परीक्षण विधि सुरु गरिएको हो ।
म्याग्दीमा शुक्रबार मात्रै दुई जनाको अपराध सम्बन्धी अनुसन्धान गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले जानकारी दिनुभयो । पक्राउ परेकालाई कुटपिट गरी बयान लिने र अपराध कबुल गराउने आरोप खेप्दै आएको प्रहरीले जिल्लामा नै पहिलोपटक पोलिग्राफ परीक्षण विधि सुरु गरेको भएपनि अनुसन्धान गर्न २ देखि ४ घण्टासम्म लागेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
अमेरिकन पोलिग्राफ सोसाइटीबाट तालिमप्राप्त नेपाल प्रहरीमा पोलिग्राफ परीक्षण विधिबाट अपराध अनुसन्धान गर्ने १० जना जनशक्ति रहेकोमा म्याग्दीमा आएका प्रहरी नायव निरीक्षक बद्री दाहालले पश्चिमाञ्चलका १६ जिल्लाको पोलिग्राफ परीक्षण विधि हेर्ने गरेको प्रहरीले जनाएको छ ।
उहाँका अनुसार पोलिग्राफ परीक्षण गर्दा कानुन व्यवसायी वा नजिकका आफन्तको रोहवरमै गर्ने गरिएको छ । मेडिकल परीक्षण सामग्री र कम्प्यूटर सफ्टवेयरको सहायताले आरोपितको मुटुको धड्कन, रक्तसञ्चार, पसिना तथा आवेग र उत्तेजनाको ग्राफचित्रमार्फत उसले दिएका उत्तरको सही वा गलत पत्ता लगाउने गरिएको भएपनि ५ प्रतिशतसम्म त्रुटी हुनसक्ने प्रहरी नायव निरीक्षक दाहालले बताउनुभयो ।