दोलालघाट(काभ्रे),२१ वैशाख ।
नेपाल–चीन वाणिज्य मैत्री संघको संयोजनमा महाभूकम्प पिडीत काभ्रे जिल्लाका विभिन्न स्थानमा शनिवार राहत बितरण गरिएको छ । नेपाल–चीन वाणिज्य मैत्री संघ, दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्र, डि.आर.एन.ओभरसिज प्रा.लि. र चीनको प्रसिद्ध छ्वानू फर्निचर कम्पनिले दोलालघाट गा.वि.स.का वडा नं.१देखि ६ नं. वडा सम्मका महाभूकम्प पिडीतहरुलाई चामल, दाल, नून लगायतका खाद्य सामग्री राहतको रुपमा वितरण गरेका हुन् ।
नेपाल–चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठका अनुसार दोलालघाट गा.वि.स. वडा नं.१, २ र ३ का १ सय १५ परिवार, वडा नं.४ र ५ का ६७ परिवार र वडा नम्वर ६ का ६७ परिवारलाई प्रति परिवार १० किलो चामल, २ किलो दाल र १ किलो नुन वितरण गरिएको हो । ति संस्थाहरुले आईतवार दोलालघाट वडा नम्वर ७, ८ र ९ र सिन्धुपाल्चोक जिल्लाको ठूलो सिरुवारी र साँगाचोक गा.वि.स.का विभिन्न स्थानका भूकम्प प्रभावित जनतालाई राहत सामग्री बाँड्ने तयारी गरेको छ ।
यसैबीच दोलालघाटस्थित ग्रुप ११ ले काभ्रे जिल्लाको ज्याम्दी, सापीङ र भुम्लुटार गा.वि.स.का विभिन्न स्थानमा चामल र चाउचाउ लगायतका खाद्यान्न वितरण गरेको छ । ग्रुपका अध्यक्ष उद्धव खरेलले रेडियो मिर्मिरेलाई दिएको जानकारी अनुसार शनिवार सो ग्रुपले काभ्रे जिल्लाको भुम्लुटार, ज्याम्दी, राम्चे, राजपथ, बन्देउटार लगायतका क्षेत्रमा रहेका भूकम्प पिडित झण्डै २ सय परिवारलाई चामल, चाउचाउ लगायतका खाद्य सामग्री वितरण गरेको छ ।