इलाम, ९ वैशाख ।
नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सकेसम्म सहमतिमै संविधान जारी हुने बताउनुभएको छ ।
फिक्कलमा आज दिउँसो आयोजित कार्यकर्ता भेलामा उहाँले सहमतिका आधारमा संविधान जारी गर्न शीर्ष नेताको बैठक बसिरहेको बताए ।
“शीर्ष नेताको बैठक बसिरहेको छ, यसले सहमतिमा संविधान जारी गर्ने वातावरण सिर्जना गर्छ”, खनालले भने, “शीर्ष नेतृत्वबीच वार्ता सकारात्मक तरिकाले अघि बढेकाले सहमतिका आधारमा संविधान जारी हुन्छ ।”
हदैसम्मको लचकताका आधारमा सहमतिमा र त्यति गर्दासम्म भएन भने मात्र प्रक्रियामा गएरै भए पनि आगामी असारसम्ममा नयाँ संविधान जारी गरिनेसमेत उनले बताए ।
एमाओवादीलगायत अन्य दलसँग पनि पछिल्लो समय वार्ता सकारात्मक तरिकाले अघि बढ्दै गएकाले सहमतिमा संविधान जारी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।
इलाम क्षेत्र नं १ का सभासद्समेत रहनुभएका खनाललाई नेता, कार्यकर्ता र मतदाताले क्षेत्र नं १ को विकासका लागि पहल गर्न आग्रहसमेत गरेका छन् ।
नेकपा एमाले क्षेत्र नं १ को बिहीबार हुने अधिवेशनको उद्घाटनका लागि गृह जिल्ला आउनुभएका खनालले विकासका लागि आफूले केन्द्रसम्म विशेष पहल गर्ने बताएका छन् ।