काठमाडौ, १० बैशाख । संविधान सभाको बैठक आज बस्दैछ । पछिल्ला बैठकहरुमा लगतार शोक प्रस्ताव पारित गर्दै स्थागित हुदै आएको बैठक आज पनि एजेन्डमा प्रवेश नगर्ने सम्भावना रहेको संविधान सभा सचिवालयले जनाएको छ ।
सचिवालय स्रोतका अनुसार गत सोमबार प्रमुख तीन दलबीच भएको छलफलमा संघीयता बाहेक अन्य विषयलाई टुंगो लगाएर मस्यौदा निर्माण प्रक्रियामा लैजाने सहमति भएपनि यसवीचमा दलहरुवीच खासै गृहकार्य हुन नसक्दा आजको बैठक पनि एजेण्डविहीन बन्ने स्थिति देखापरेको हो ।
सत्तारुढ कांग्रेस एमाले र प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीका शीर्षनेताहरुबीच मिलिसकेका विषयलाई मस्यौदाको प्रक्रियामा पठाउने र संघीयताको विषयमा शीर्षनेता सम्मिलित कार्यदल बनाएर थप छलफल गर्ने सहमति बालुवाटार बैठकमा भएको थियो ।
तर, सहमतिलगत्तै प्रधानमन्त्री सुशील कोइराला अफ्रो एसियाली सम्मेलनमा सहभागी हुन जाकार्ता जानु भएपछि दलहरुबीच फेरि सम्वाद अघि बढेको छैन । यद्यपि दलहरुबीच आजको संविधानसभा बैठकअघि औपचारिक बैठक बस्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यसैबीच सभामुख सुवास नेम्वाङले सहमतिका लागि दलहरुलाई पुनः एक साताको समय दिँदै संविधानसभाको बैठक वैशाख १७ गतेसम्मका स्थगित गर्ने तयारी गर्नु भएको स्रोतले जनाएको छ । यस्तै आजको बैठकले अर्को बैठकका लागि कार्यसूची तय गर्नेछ ।
अब दिइने एक साताको समय सहमतिका लागि अन्तिम हुने र यसबीचमा पनि दलहरुबीच सहमति हुन नसके प्रश्नावलीमाथि मतदान गरी मस्यौदामा पठाउने सभामुख नेमवाङ तयारी छ ।