धनगढी, ३ बैशाख।
नुहाउने क्रममा कैलालीको अत्तरियामा दुई दिदीबहिनी सहित तीन बालिकाको मृत्यु भएको छ । बिहीबार अत्तरिया नगरपालिका १३ स्थित मनहरा खोलामा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो ।
घरबाट मध्यान्ह बाह्र बजे नुहाउन गएका तीनै जना मनहरा खोलामा मृत फेला परेको अत्तरियास्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलदीप चन्दले बताए ।
मृत्यु हुनेमा अत्तरिया नगरपालिका १३ की १३ वर्षीया करिस्मा गिरी, धनगढी नगरपालिका १ शिवनगरकी १२ वर्षीया अस्मिता नाथ र उनकी ८ वर्षीया बहिनी अनिसा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अस्मिता र अनिसा बुधबार आफ्ना बुबा रमेश नाथ सँग धनगढीबाट अत्तरियास्थित फुपुको घरमा आएका थिए । उनीहरु खेल्दाखेल्दै घरनजिकै मनहरा खोलामा नुहाउन गएका थिए ।
खोलाको पानी जमेको गहिरो ठाउँमा नुहाएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीको भनाई छ । मृतक अस्मिता र अनिसाका बुबा नेपाल प्रहरीका हवल्दार हुन् ।
स्थानीयले प्रहरीलाई खोला छेउमा नुहाउने क्रममा तीन बालिका डुबेको खबर गरेपछि नेपाल प्रहरी र अत्तरियास्थित औद्योगिक सुरक्षा वलको टोलीले घटनास्थलबाट शव निकालेको थियो ।
मृतक तीनै बालिकाको शव धनगढीस्थित सेती अञ्चल अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको कैलाली प्रहरी प्रबक्ता डीएसपी विश्वराज खड्काले बताए ।