जाजरकोट,३ वैशाख ।
मौसमी सिजनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिकरुपमा बढ्न थालेपछि जाजरकोटमा विहीबारदेखि सबै विद्यालय बन्द गरिएको छ ।
जिल्लाका २७६ प्रावि, ९२ निमावि र ६४ ओटा मावि विद्यालयको पठनपाठन जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयअनुसार १५ दिनका लागि बन्द गरिएको हो ।
विद्यालयबाट छिटो संक्रमण बढ्न सक्नेप्रति सचेत हुँदैविद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जाजरकोटको अछानी गाविसको एक विद्यालयबाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरेको छ ।
यसैबीच, नेपाली सेनाको चिकित्सकसहितको टोलीले विहीबार बिहानैदेखि रोग प्रभावित टालेगाउँ गाविसमा उपचार सुरु गरेको छ ।
त्यस्तै, चौरजहारीस्थित रहेको मेसिन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले पनि शुक्रबारै उपचार सुरु गरेको छ ।
उता, बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी रामकृष्णा गिरी बिरामी परेपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको छ ।
दुई सातादेखि जाजरकोटमा फैलिएको मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका कारण १७ जनाको मृत्यु भइसकेको छ भने कैयौ बिरामी परेका छन् ।