काठमाडौ, २९ चैत ।
संविधान निर्माणमा देखिएको विवादका विषयमा साझा धारणा तय गर्न सत्तासिन दल कांग्रेस र एमालेबीच आज छलफल हुने भएको छ ।
साँझ ५ बजे प्राधानमन्त्री निवास बालुवाटारमा दुई दलका मुख्य नेताबीच छलफल हुन लागेको हो ।
आजको छलफलपछि दुई दलले साझा धारणा तय गर्ने र विपक्षी दलसँग वार्ताका लागि त्यही धारणालाई अघि सारिने भएको छ ।
संघीयतासम्बन्धी विवादमा सत्तापक्षीय दलहरुकै एकमत हुन नसकेपछि वार्ता निस्कर्षमा पुग्न नसकेको भन्दै आज छलफल गर्न लागिएको हो ।
हिजो मात्रै पनि मुख्य पार्टीका शीर्ष नेताहरुबीच भएको छलफलले संघीयतामा देखिएको विवाद राजनीतिक आयोग बनाएर टुङ्गो लगाउने गरी छलफल अघि बढाउका छन् ।
संविधानसभाको बैठक अझै केही दिन पर सारेर आयोग घोषणा गर्ने र यसलाई सभाबाटै अनुमोदन गराएर विवादित पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे सर्वसम्मत समाधान खोजिने गरी सहमति बनेको छ ।
त्यसैले दुई दलबीच पनि साझा धारणा तय गर्ने र विपक्षीसँग पनि छुट्टै वार्ता गर्ने तयारी भएको छ ।