बाग्लुङ, २८ चैत ।
बाग्लुङ निर्वाचन क्षेत्र नम्बर–१ मा शनिबार संविधानसभा उपनिर्वाचनका लागि मतदान भइरहेको छ । उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी तीन राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन। निर्वाचनमा ७० मतदान केन्द्र रहेका छन् ।
उपनिर्वाचनमा जिल्लामा पहिलोपटक विद्युतीयमतदान मेसिनको प्रयोग गरिएको छ । सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर आफूलाई मन परेको उम्मेदवारलाई विद्युतीय उपकरणको प्रयोग गरी मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले सबैलाई आग्रह गरेको छ ।
मतदानका लागि अशक्त, बृद्ध, गर्भवती महिलालगायतकालाई छुट्टै व्यवस्था गरिएको छ । निर्वाचनका लागि निजामति कर्मचारी ३ सय ५०, स्वयंसेवक ४ सय २० गरी कुल ७ सय ७० जना जनशक्ति परिचालन गरिएका छन् । उपनिर्वाचनमा मतदाता परिचयपत्र नभइकनै पनि भोट हाल्न पाउने नयाँ व्यवस्था गरिएको छ ।
२०७० सालको निर्वाचनबाट बिजयी सभासद हरिबहादुर खड्काको सडक दुर्घटना परी मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । बाग्लुङ क्षेत्र नम्वर–१ मा कुल ५२ हजार २ सय २ मतदाता रहेका छन् ।