बनेपा, २७ चैत ।
नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान निर्माणको प्रक्रियालाई लामो समय अल्झाएर राख्न नहुने बताएका छन् ।
प्रेस चौतारी नेपालको मध्यमाञ्चलस्तरीयको भेलाको आज बनेपामा उद्घाटन गर्दै उहाँले सकेसम्म सहमति, नभए सहमति भएका विषयका आधारमा संविधान जारी गर्ने र मिल्न बाँकी कतिपय विषयलाई संवैधानिक आयोग गठन गरेर पछि टुङ्गो लगाउने गरी चाँडो संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
संविधान निर्माणका लागि एमाले लचकताका साथ प्रस्तुत भएको उल्लेख गर्दै बाँकी रहेका विवादित विषयलाई संवैधानिक आयोगबाट टुङ्ग्याउँदा एमाओवादी पनि संविधानसभाबाट पछाडि हट्ने अवस्था नआउने बताएका छन् ।
भट्टराईले पहिचानका आधारमा राज्य पुनः स्थापना गर्न खोज्ने एमाओवादी र मधेसकेन्द्रित दलको प्रयास सफल नहुने पनि बताएका छन् ।
एमालेका केन्द्रीय सदस्य सूर्य थापाले प्रेस चौतारीलाई नेपाल पत्रकार महासङ्घसँग समन्वय गरेर अघि बढ्न सुझाव दिनुभयो ।
चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले आस्थाका आधारमा सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकारलाई विभेद गरिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
मध्यमाञ्चल उपाध्यक्ष उप्रेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका सभासद् तथा काभ्र जिल्ला अध्यक्ष रामहरि सुवेदी, एमाले काभ्रेका पूर्व अध्यक्ष गोकूल बास्कोटा, चौतारीका सल्लाहकार विष्णु रिजाल, युवा सङ्घ नेपालका सचिव चन्द
लामालगायतले भेला सफलताको शुभकामना दिएका थिए ।
सम्मेलनमा मध्यमाञ्चलअन्तर्गत उपत्यका, प्रतिष्ठान, वागमती, जनकपुर, नारायणी अञ्चल कमिटी मातहतका जिल्ला र शाखाका प्रतिनिधिको सहभागिता थियो ।
भेलाले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन हुनुपर्नेलगायत विभिन्न बुँदामा घोषणापत्र जारी गरेको छ ।