वैदेशिक रोजगारका नाममा एकै गाउँमा ४० युवा ठगिए

वैदेशिक रोजगारका नाममा एकै गाउँमा ४० युवा ठगिए

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं २६ चैत ।

गाउँमा अलिकति पाखो बारी। जसोतसो त्यही पाखोबारीमा खेती गरेर गुजारा चलाइरहेका धुवाँकोट-८ का दीपबहादुर वस्तीलाई आफन्त पर्नेले विदेशी जागिरको सपना देखाए।

दीपबहादुर २०६४ सालमा तिनै आफन्तलाई एक लाख ६० हजार बुझाएर इराक उडे। तर १९ दिनसम्म दुबईको एयरपोर्टमा अलपत्र परे। निकै सकसमा परे, र बिना कमाइ घर फर्किए। उनले इराक जान ऋणमा पैसा लिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

घर फर्केर आएपछि इराक पठाउने ती आफन्त खोज्दैमा महिनौं बित्यो। बल्तल्ल आफन्त रूपी ‘दलाल’ काठमाडौं मनमैजुका कुलबहादुर बोहोरालाई फेला पारेर बुझाएको पैसा मागे उनले।

१५ दिनभित्र पैसा फिर्ता गर्छु भनी कागज गरेर उम्केका कुलबहादुर सम्पर्कमा आएनन्। तीन वर्षपछि दुर्घटनामा परेर उनको मृत्यु भएको खबर दीपबहादुरले पाए। अहिले उनी त्यही कागज बोकेर आफ्नो डुबेको रकम उठाइदिन भन्दै प्रहरी प्रशासनमा धाइरहेका छन्।

आफूले लिएको एक लाख ६० हजार तिर्न नसकेपछि उनले गत वर्ष छोरा लीलबहादुरलाई फेरि ऋणमा पैसा खोजेर मलेसिया पठाए तीन वर्षका लागि भनेर। छोरा त्यहाँ पुगेर अलपत्र परे। पाँच महिनामै घरबाट पैसा पठाएर उनलाई झिकाउनुपर्‍यो दीपबहादुरले।

लीलबहादुरकी आमा भोजकुमारीले भनिन्, ‘गाउँका विभिन्न व्यक्तिसँग लिएको ऋण तिर्न नसकेर अहिले छटपटी भएको छ। एउटासँग ऋण लिएर अर्कोलाई तिर्छु’, उनले भनिन्, ‘छोरालाई मलेसिया पठाउँदा थपिएको ऋण त विदेश पठाउने दलालले फिर्ता दिन्छु भनेको छ, तर श्रीमान् इराक जाँदा लागेको ऋण मैले कसरी तिर्ने होला?’

पैसा कमाउन भनेर कतार हानिएका धुवाँकोट-७ का रेशम श्रेष्ठ, होमनाथ ढुंगाना, चितवनका दीपप्रसाद मरहट्टा पनि ऋणको भारी बोकेर घर फर्किए।

गाउँमा खेती गरिरहेका होमनाथ र ट्रक चलाउँदै आएका रेशमलाई ड्राइभर र वेट्रसको काम दिलाइदिने र मासिक १४ सय रियाल कमाइ हुने भन्दै धुवाँकोटकै एकराज न्यौपानेले जनही ६५ हजार रुपैयाँ लिएर कतार पठाइदिएका थिए। तर उनीहरूले त्यहाँ पुगेपछि सम्झौताअनुसार काम पाएनन्।

ऋणमा पैसा लिएर गएका उनीहरूले एक वर्ष अरू काम त गरे तर सात महिनाको तलबमात्र बुझेर फर्किए। अहिले उनीहरू क्षतिपूर्तिका लागि प्रहरी र आफूलाई विदेश पठाउनेम्यानपावर कम्पनीमा धाउँदैछन्।

१६ वर्षअघि विदेशमा काम गरेर फर्किएका धुवाँकोटकै खेमनारायण श्रेष्ठले भने, ‘लीलबहादुर, दीपबहादुर, रेशम र होमनाथमात्रै होइन धुवाँकोट-७, ८ र ९ का ४० जनाभन्दा बढी युवक विदेश जाने चक्करमा ठगिएका छन्।’

उनी यसरी ठगिएकालाई कानुनी उपचारका लागि परामर्श दिँदै हिँड्छन्। जिल्ला प्रशासन कार्यालयमा विदेश पुगेर फसेकाको उद्धार र रोजगारीमा जानेका लागि सूचना तथा परामर्श दिने केन्द्र स्थापना भएपछि यस्ता ठगीका घटना बाहिर आउन थालेका हुन्।

वीरगन्जका राजेन्द्र कार्कीलाई एक लाख रुपैयाँ बुझाएर मलेसिया गएका धुवाँकोट ७ का दीपक श्रेष्ठ पनि मलेसिया पुगेको तीन दिनमै घर फर्कन बाध्य भए। धुवाँकोट-९ का दीपक गुरुङ म्यानपावर कम्पनीलाई एक लाख बुझाएर पनि विदेश जान पाएका छैनन्।

एक लाख ३५ हजार बुझाएर मलेसिया पुगेका धुवाँकोट-७ कै हरि ढुंगाना त्यहाँ पुगेपछि मेडिकलमा फेल भएर फर्किए। सोही गाउँका नारायण नेपाल पनि मलेसियामा सम्झौताअनुसार काम नपाएपछि ऋण बोकेर फर्किए।

धुवाँकोट-९ कै लक्ष्मी घिमिरेले विदेश जान दलाललाई एक लाख ५० हजार रुपैयाँ बुझाए पनि उड्न सकेका छैनन्। पैसा बुझ्ने दलाल फरार छन्, लक्ष्मीसँग पैसा बुझाएको कपाली तमसुकमात्र छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी