हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

मुस्ताङ, १० मङ्सिरः जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको छ ।

दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोम र लोमान्थाङ कार्यालयले हिउँ चितुवाको आहारा प्रजाति नाउरको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने उद्देश्यले छुट्टाछुट्टै सर्वेक्षण गरिरहेका एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले राससलाई जानकारी दिनुभयो ।

मस्ताङको तल्लो क्षेत्रमा हिउँ चितुवाको अध्ययनका लागि क्यामेरा जडान गरिएका एक र उपल्लो मुस्ताङमा तीन गरी चार वटा क्षेत्रमा चरन तथा घाँसको अध्ययन भइरहेको छ । ती क्षेत्रमा घाँसका नमूना सङ्कलन गरी चरनको विद्यमान अवस्था, घाँसका प्रजाति र विविधता, जैविक पदार्थको परिमाण तथा पोषण तत्वको अवस्था मापन गरिने छ ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा १० वर्गमिटरका खण्ड बनाई प्रत्येक खण्डभित्र एक वर्गमिटरका उपखण्ड निर्धारण गरेर घाँसको नमूना सङ्कलन भइरहेको छ । तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा १५ र घरपझोङ गाउँपालिकामा नौ गरी २४ वटा खण्ड तथा तिनका ४८ वटा उपखण्डबाट हिउँ चितुवाको आहारा प्रजातिले खाने घाँसको नमूना सङ्कलन भइरहेको उहाँले बताउनुभयो।

वारागुङ मुक्तिक्षेत्रका साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङलगायत उच्चलेकका चरन क्षेत्रमा नमूना सङ्कलन भइरहेको छ। क्यामेरा जडान गरिएका क्षेत्रमा एक खण्डदेखि अर्को खण्डसम्मको दूरी कम्तीमा ५०० मिटर कायम गरेर नमूना लिइएको थकालीले जानकारी दिनुभयो।

यसैगरी, उपल्लो मुस्ताङमा एक्याप लोमान्थाङले हिउँ चितुवाको अध्ययनका लागि यसअघि क्यामेरा जडान गरिएका तीन क्षेत्रमा चरन तथा घाँसको गुणस्तर मापन सुरु गरेको छ। हिउँ चितुवाको सङ्ख्या वृद्धि गर्न यसको आहारा प्रजातिको सङ्ख्या बढाउनुपर्ने र त्यसका लागि चरन क्षेत्र सुधार तथा घाँसको गुणस्तर वृद्धि आवश्यक रहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १५० वटा खण्डबाट घाँसको नमूना सङ्कलन भइरहेको छ । हिउँ चितुवाको अध्ययनका लागि निर्धारण गरिएका तीन क्षेत्रमा पाँच वर्गकिलोमिटरको जाली संरचनाभित्र पर्ने चरन क्षेत्र समेटेर नमूना सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो। घाँसले ओगटेको क्षेत्रका आधारमा प्रतिखण्ड बढीमा ४० देखि ५० वटासम्म नमूना सङ्कलन गरिनेछ।

सर्वेक्षणका क्रममा हरियो घाँस र सुकेको घाँसको तौलसमेत मापन गरिने प्रमुख पौडेलले बताउनुभयो। सङ्कलित नमूना प्रयोगशालामा पठाएर घाँसको पोषण तत्त्व र गुणस्तर परीक्षण गरिनेछ। यसबाट नाउरको आहारा उपलब्धता र गुणस्तर सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हिउँ चितुवाको प्रमुख आहारा नाउर भएकाले यसको आहाराको गुणस्तर र उपलब्धताले नाउरको शारीरिक अवस्था, मोटोपन तथा प्रजनन क्षमतामा पार्ने प्रभावसमेत अध्ययन गरिने उहाँले बताउनुभयो । चरन क्षेत्रको अवस्था र घाँसका प्रजातिबारे वैज्ञानिक अध्ययन गरी आहारा प्रजातिको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने लक्ष्य छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्याले नाउरको आहारा तथा बासस्थानमा असर पारेको विश्लेषण गरिएको छ । गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेपछि स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणको जोखिममा पर्ने गरेका छन् ।

चरन क्षेत्रमा गुणस्तरीय घाँसको उपलब्धता घट्दै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुले हिउँ चितुवाको आहारा प्रजाति संरक्षणमा चुनौती थपेको छ । चरन क्षेत्रको गुणस्तर सुधार र चरिचरनलाई व्यवस्थित तथा सन्तुलित बनाउन सके नाउरको संरक्षणसँगै हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अध्ययनका क्रममा चरन क्षेत्रमा पाइने घाँसको हरियो र सुकेको अवस्थाको तौल मापन गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो । सङ्कलित नमूना गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइने र त्यसबाट घाँसको पोषण गुणस्तर मापन गरिने उहाँले बताउनुभयो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा नाउरले खाने घाँसको अभाव हुन थालेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको प्रमुख पौडेलको कथन छ ।
चरन क्षेत्रमा मिचाहा प्रजातिका घाँस फैलिने र गुणस्तरीय घाँसको उपलब्धता घट्ने गर्दा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेका छन् । यसले स्थानीय किसानले पालेका पशुचौपाया हिउँ चितुवाको आक्रमणमा पर्ने जोखिम बढाएको छ ।

पछिल्ला केही वर्षयता उच्चलेकका चरन क्षेत्रमा पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्याले नाउरको बासस्थान र आहारामा असर पारेको छ । गुणस्तरीय घाँसको उपलब्धता घट्दै जाँदा हिउँ चितुवा र यसको आहारा प्रजाति संरक्षणमा चुनौती थपिएको छ ।

हिउँ चितुवाको बासस्थान क्षेत्रमा घाँसको गुणस्तर सुधार गर्नुका साथै चरिचरनलाई व्यवस्थित र सन्तुलित बनाउन सके नाउरको संरक्षण तथा हिउँ चितुवा र त्यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुग्ने प्राकृतिक स्रोतसाधनको संरक्षणमा सक्रिय व्यक्तिहरूले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ