मिर्मिरे, काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आज आइतबार भारत प्रस्थान गर्दै छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३४ सदस्यीय नेपाली भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह दिउँसो १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानबाट नयाँ दिल्लीतर्फ लाग्न लागेका हुन्।
गत चैत १३ गते प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। उच्चस्तरीय भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार लगायतका उच्चपदस्थ अधिकारीहरू सहभागी छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह सवार विमान भारतीय समय अनुसार दिउँसो ३:१५ बजे (नेपाली समय ३:३० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपाली टोलीको स्वागत गर्ने कार्यक्रम छ।
यस्तो छ भ्रमण तालिका:
पहिलो दिन (आइतबार):
साँझ ६:०० बजे: होटल ताज महलमा भारतका विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता।
दोस्रो दिन (सोमबार):
बिहान १०:०० बजे: राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा सम्मान (गार्ड अफ अनर)।
बिहान १०:४० बजे: महात्मा गान्धीको समाधिस्थल राजघाट पुगी श्रद्धाञ्जली अर्पण।
बिहान ११:०० बजे: हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता।
दिउँसो १२:२५ बजे: द्विपक्षीय समझदारीपत्र (MoU) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी।
दिउँसो ३:१५ बजे: राष्ट्रपति भवनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट।
साँझ ४:५० बजे: स्वदेश फिर्ताका लागि नयाँ दिल्लीबाट काठमाडौँतर्फ प्रस्थान।
दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने, आर्थिक तथा व्यापारिक सहयोग बढाउने र विभिन्न क्षेत्रमा नयाँ सम्झौताहरू गर्ने कार्यसूची रहेको छ।