१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

  • बुधबार, अशोज २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले १० वर्षमुनिका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ ।

बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरेको हो ।

डब्लुएचओका अनुसार ० देखि ९ वर्ष उमेर समूहका बालबालिकामा मोटोपन उपचारका लागि औषधि, बेरियाट्रिक शल्यक्रिया वा तौल घटाउने उपकरण प्रयोग गर्न सिफारिस गरिँदैन । १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा भने निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्र स्वीकृत औषधि प्रयोगबारे विचार गर्न सकिनेछ ।

अत्यधिक मोटोपन भएका किशोरकिशोरीमा भने कडा मापदण्ड र चिकित्सकीय सर्तपूरा भएमा बेरियाट्रिक शल्यक्रियाबारे विचार गर्न सकिने डब्लुएचओले जनाएको छ । विशेषगरी टाइप–२ मधुमेह वा उच्च रक्तचापजस्ता स्वास्थ्य जटिलता देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिनेछ ।

यी सिफारिस वयस्कको मोटोपनसम्बन्धी डब्लुएचओको निर्देशिकाभन्दा फरक छन् । सन् २०२५ डिसेम्बरमा जारी वयस्कसम्बन्धी निर्देशिकामा ओजेम्पिक र माउन्जारोजस्ता जिएलपी–१ वर्गका औषधिसहित तौल घटाउने तथा मधुमेह नियन्त्रणका औषधि प्रयोग गर्न सकिने उल्लेख गरिएको थियो ।

डब्लुएचओका अनुसार सन् २०२४ मा विश्वभर ५ देखि ९ वर्ष उमेर समूहका करिब सात करोड बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका करिब १० करोड किशोरकिशोरी मोटोपनबाट प्रभावित थिए । पाँचदेखि १९ वर्ष उमेर समूहमा मोटोपनको दर सन् १९९० को दुई प्रतिशतबाट बढेर सन् २०२४ मा आठ प्रतिशत पुगेको छ ।

डब्लुएचओको पोषण तथा खाद्य सुरक्षा विभागकी निर्देशक लुज मारिया डे रेगिलले मोटोपन सबै क्षेत्रमा बढिरहेको बताउनुभयो । उहाँका अनुसार कम तथा मध्यम आय भएका देशमा समस्या तीव्र रूपमा बढिरहेको छ भने केही उच्च आय भएका देशमा वृद्धि रोकिए पनि समस्या अझै उच्च छ ।

डब्लुएचओले मोटोपनसँगै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने जनाएको छ । चिन्ता, डिप्रेसन र न्यून आत्मसम्मानले अस्वस्थ खानपान तथा शारीरिक निष्क्रियता बढाउन सक्ने भन्दै सङ्गठनले मोटोपन भएका बालबालिकाले सामाजिक लाञ्छना र बुलिङको सामना गर्नुपर्ने जोखिमतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ