विराटनगर। जल तथा मौसम विज्ञान विभागले प्रदेशका विभिन्न स्थानमा ‘भारी’देखि ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् व्यवस्थापन र पूर्वतयारीलाई तीव्रता दिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित मातहतका कार्यालय, सम्पूर्ण कर्मचारी, उपकरण तथा आवश्यक जनशक्तिलाई २४ सै घण्टा उच्च सतर्कता (हाइअलर्ट) मा रहन कडा निर्देशन जारी गरेको हो।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी र भारी वर्षाको सम्भावना बढेको छ। वर्षाका कारण सडक, पुल तथा अन्य पूर्वाधारमा पुग्न सक्ने क्षति न्यूनीकरण गर्न र कहीँ कतै अवरोध भएमा तत्काल मर्मत/पुनःसञ्चालनका लागि उद्धार संयन्त्रहरूलाई तम्तयार अवस्थामा राखिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यका अनुसार वर्षाका कारण हुनसक्ने बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिमा तत्काल उद्धार तथा राहत कार्यका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको छ। मन्त्री आचार्यले जोखिमयुक्त सडक तथा पुलहरूको नियमित अनुगमन र निगरानी बढाउन, उपलब्ध जेसीबी, मेसिन तथा उपकरणहरू तयारी अवस्थामा राख्न र कुनै घटना घट्नासाथ तत्काल परिचालन भई मन्त्रालयमा विवरण पठाउन निर्देश गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा भोलि ८ गते मौसम अत्यधिक सक्रिय रहने अनुमान छ। मेघगर्जन र चट्याङ्गसहित तराई तथा पहाडी भेगका एक-दुई स्थानमा ‘धेरै भारी’ वर्षा हुनसक्ने र यसले पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम बढाउने भएकाले तटीय र जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालय र महाशाखाले अपिल गरेका छन्।