७ असोज, २०८३ (२३ सेप्टेम्बर, २०२६)
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत शर्माको बुधबार साँझ उपचारका क्रममा निधन भएको हो।
नेपालको उच्च शिक्षा र प्राविधिक शिक्षाको विकासमा विशिष्ट योगदान पुर्याउनुभएका शर्माले काठमाडौँ विश्वविद्यालयको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले सो विश्वविद्यालयमा लगातार ६ कार्यकाल उपकुलपतिको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो।
उहाँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पहिलो कार्यकारी निर्देशकसमेत हुनुहुन्थ्यो। लन्डनस्थित युनिभर्सिटी अफ साउथ बैंकबाट रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएका डा. शर्मा नेपालको शैक्षिक जगत्का एक शिखर पुरुष मानिनुहुन्छ।