काठमाडौं — बंगालको खाडीमा विकसित हुन सक्ने चक्रवात (समुद्री आँधी) का कारण आगामी बिहीबारदेखि लगातार चार दिनसम्म नेपालमा भारी वर्षा हुने सम्भावना देखिएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार नेपालमा भारी वर्षाको सम्भावना लगभग पक्काजस्तै देखिएको छ।
असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने उनको भनाइ छ। करिब आधा दर्जन मौसम पूर्वानुमान मोडेलहरूको विश्लेषण गर्दा सबैले वर्षाको संकेत देखाएका छन्। ‘मौसम प्रणाली छिटोछिटो सरेमा धेरै समय पानी पर्दैन,’ सहप्राध्यापक पोखरेलले भने, ‘तर, अहिलेको अवस्था हेर्दा तीन–चार दिनसम्म लगातार पानी पर्ने देखिएको छ। धेरै दिन र समय वर्षा हुँदा ठूलो क्षति पुग्न सक्ने भएकाले बेलैमा सचेत हुन जरुरी छ।’
भारतको उत्तरपश्चिम क्षेत्रबाट आउने सुक्खा हावा र बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणाली आपसमा ठोक्किएर नेपालतर्फ भारी वर्षा गराउने गर्छन्। कतिपय पूर्वानुमान मोडेलले ५०० मिलिमिटरभन्दा बढी वर्षा हुने देखाएका छन्। यसको प्रभाव देशभरि नै पर्ने देखिए पनि विशेषगरी लुम्बिनी प्रदेशमा भारी वर्षाको अत्यधिक जोखिम रहेकोले त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
मनसुनको अन्त्यतिर हुने यो वर्षाले पहिले नै भिजिसकेको जमिनलाई थप कमजोर बनाउने भएकाले बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने विज्ञहरूको चेतावनी छ।
जल तथा मौसम विज्ञान विभागले चक्रवातको विकास भइरहेको र यसको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, ‘अहिले नै कहाँ र कति पानी पर्छ भन्न सकिने अवस्था छैन, हामी निरन्तर निगरानी गरिरहेका छौं।’
सामान्यतया नेपालबाट अक्टोबर २ मा मनसुन बाहिरिने भए पनि कहिलेकाहीँ अक्टोबरको दोस्रो सातासम्म लम्बिने गरेको छ। यसपटक पश्चिमी वायु र मनसुनी प्रणाली एकै ठाउँमा ब्लक हुँदा वर्षाको मात्रा बढ्ने देखिएको छ।