काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गत भाद्र १० गते आएको विनाशकारी बाढी तथा पहिरो प्रभावितका लागि मोबाइल फोन आयातकर्ता संघ (MPIA) ले ३९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी मंगलबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।
रकम हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूको उपस्थिति रहेको थियो।
हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष दीपक कुमार मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई राहत र उद्धारमा सघाउनु सबैको साझा दायित्व भएको बताए। उनले संकटको समयमा ऐक्यबद्धता जनाउँदै रकम संकलनमा सहयोग गर्ने सम्पूर्ण सदस्य संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।
उक्त सहयोग रकमले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास संघले लिएको छ।