काठमाडौँ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।प्रस्तावित लाभांशमध्ये बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा विनियोजन गरिएको छ ।
यस रकममा बोनस र नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनको करसमेत) प्रस्ताव गरेको छ ।
हाल बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीलाई उचित प्रतिफल दिन लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ।