काठमाडौँ — रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या ३८९ पुगेको छ। बाढीले बगाएर बेपत्ता बनाएकामध्ये बिहीबार बेलुकी ९ बजेसम्म विभिन्न ८ जिल्लाबाट ३८९ जनाको शव फेला पारिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाढीले बगाएर ल्याएका १३७ जनाको शव नारायणी नदी किनार क्षेत्रबाट निकालिएको छ। यस्तै, धादिङबाट ३३, गोरखाबाट ३२, तनहुँबाट २८, नवलपरासी पश्चिमबाट २७, रसुवाबाट १७, नवलपरासी पूर्वबाट ७ र नुवाकोटबाट २ जनाको शव फेला परेको छ।
सयौँ अझै बेपत्ता, उद्धार तीव्र
बाढीमा अझै सयौँ नागरिक बेपत्ता रहेको अनुमान छ। विपत्मा परेका ४६६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये सबैभन्दा धेरै रसुवाबाट २८९ जना, नुवाकोटबाट ९० जना र धादिङबाट ३ जना रहेका छन्। गम्भीर घाइते तथा जोखिममा परेका ८४ जनालाई थप उपचार र व्यवस्थापनका लागि काठमाडौँ ल्याइएको छ।
बाढीका कारण नदी तटीय क्षेत्रका सर्वसाधारण, बजार र संरचनामा गम्भीर क्षति पुगेको छ। हाल बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित स्थानीय बासिन्दा र आफन्तहरू निरन्तर खटिएका छन्।