भदौ १० गते रसुवामा विनाशकारी बाढी कसरी आयो भन्ने विषयमा प्राविधिक तथा वैज्ञानिक तहमा विभिन्न दृष्टिकोणहरू अघि सारिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रारम्भिक अध्ययनको आधारमा नेपाल–चीन सीमा नजिकै गएको हिम–चट्टान पहिरो (आइस-रक एभालान्च) मुख्य कारण रहेको जनाएको छ। रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको हिमनदीको ठूलो बरफको टुक्रा टुटेर खसेपछि ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको र त्यो त्रिशूली नदीमा मिसिन पुगेको अध्ययनले देखाएको छ।

अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले सुरुमा ४.४ म्याग्निच्युडको भूकम्पका कारण पहिरो गएको अनुमान गरे पनि पछि विवरण संशोधन गर्दै लामो समयसम्म चलेको भौगर्भिक हलचल पहिरोकै कारण उत्पन्न भएको स्पष्ट पारेको छ। न्युयोर्क टाइम्सका अनुसार क्यानडाका भूवैज्ञानिकहरूले हिमनदीबाट बरफको विशाल टुक्रा एक किलोमिटर तल खस्दा विस्फोटजस्तै भई पानी र बरफको मुस्लो तीव्र गतिमा तल बगेको उल्लेख गरेका छन्।
बाढीको उत्पत्ति विन्दु र पूर्वसूचनाबारे नेपाल र चीनबीच केही भ्रम तथा बहस समेत सिर्जना भएको छ। सीमा क्षेत्रको भौगोलिक स्थिति र स्याटलाइट तस्बिरहरू अनुसार पहिरो गएको लाङटाङको उत्तरी मोहोडाको भूमि नेपालभित्रै पर्ने देखिएकाले चीनतर्फ पूर्वसूचना नआएको र बाढी केही मिनेटमै रसुवागढी आइपुगेको विज्ञहरूको भनाइ छ। यस घटनामा नेपालतर्फ १६५ भन्दा बढीको शव फेला परिसकेको छ भने चीनतर्फ पनि ३ जनाको मृत्यु र सयौँ बेपत्ता भएको विवरण आएको छ।
यस अकल्पनीय विपत्तिले हिमाली क्षेत्रमा अन्तर्देशीय पूर्वसूचना प्रणालीको स्थापना, जलवायु परिवर्तनले निम्त्याएको जोखिम न्यूनीकरण र नदी किनारकेन्द्रित भौतिक पूर्वाधार विकासको ढाँचा पुनर्विचार गर्नुपर्ने गम्भीर बहस जन्माएको छ। बाढीले जलविद्युत् आयोजना र सडक सञ्जालमा अर्बौँको क्षति पुर्याएपछि आगामी दिनमा यस्ता संरचनाहरू निर्माण गर्दा उच्च हिमाली जोखिमलाई ध्यानमा राख्नुपर्ने आवश्यकता स्पष्ट भएको छ।