प्रभावितको यथाशीघ्र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

प्रभावितको यथाशीघ्र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

काठमाडौँ, ११ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको उल्लेख गर्नुभयो । सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्ने उहाँको भनाइ छ ।

“आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्”, उहाँले भन्नुभयो ।

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ९५ जना, २१ जना भारतीय नागरिक र हाकुस्थित टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ ।

“प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्‍याइँदैछ”, उहाँले भन्नुभएको छ, “छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ ।”

उहाँका अनुसार ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ। “उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध छ ।
आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी