काठमाडौँ। रसुवा र नुवाकोटमा बुधबार आएको भीषण बाढीका कारण विद्युतीय पूर्वाधार र टेलिफोन टावरहरूमा क्षति पुगेपछि सञ्चार सम्पर्क विच्छेद भएको छ। बिजुली नहुँदा र नेपाल टेलिकमका ७ वटा टावरमा क्षति पुग्नुका साथै एनसेलको फाइबर चुँडिएपछि प्रभावित क्षेत्रमा उद्धार कार्य र आफन्तसँगको सम्पर्कमा कठिनाइ उत्पन्न भएको छ।
यसैबिच, सञ्चार सम्पर्क पुनःस्थापित गर्न र राहत सामग्री पुर्याउन सरकारले हेलिकप्टरमार्फत वैकल्पिक उपकरणहरू प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ। प्राविधिकहरू खटाइनुका साथै जेनेरेटर र पोर्टेबल मोबाइल टावरहरू पठाइँदै छ।
प्रधानमन्त्री बालेनको सन्देश र उद्धारको अद्यावधिक स्थिति:
अकल्पनीय विपत्तिको यस घडीमा राज्यका सम्पूर्ण संयन्त्रहरू उद्धार र राहतमा पूर्ण रूपमा परिचालित भएको प्रधानमन्त्री बालेनले जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीका मुख्य अंशहरू:
सञ्चार र राहत व्यवस्था: प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल टावर, मेडिकल सामग्री, टेन्ट र काट्ने मेसिनहरूसहित अस्थायी मोबाइल नेटवर्क र चार्जिङको व्यवस्था मिलाइँदै छ।
टिमुरेबाट ११६ जनाको उद्धार: सेनाको रेस्क्यु अपरेसनमार्फत टिमुरेबाट ९५ नेपाली र २१ भारतीय गरी ११६ जना तथा टनेलबाट ७ जना नेपालीको सकुशल उद्धार गरिएको छ।
उडान र ड्रोन सर्भे: बिहानैदेखि १५ भन्दा बढी हेलिकप्टर उडान भइसकेका छन्। क्षति र वस्तुस्थितिको जानकारी लिन ड्रोन सर्भे अन्तिम चरणमा पुगेको छ।
प्राथमिकता र शिविर: उद्धारमा सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइएको छ भने नुवाकोटमा खाना र पानीसहितको अस्थायी शिविर तयार गरिएको छ।
प्रधानमन्त्री बालेनले सबै नागरिकलाई धैर्य र संयम कायम राख्दै एकताबद्ध भई यो विपत्तिको सामना गर्न अपिल गरेका छन्।