रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा भोटेकोसी र त्रिशूली नदीको बाढीले भीषण क्षति पुर्याएपछि प्रमुख राजनीतिक दलहरूले आपत्कालीन सहायता र उद्धारका लागि आ-आफ्ना संगठनात्मक संयन्त्र परिचालन गरेका छन्। दलीय प्रतिस्पर्धाभन्दा माथि उठेर सरकारले चाल्ने सम्पूर्ण उद्धार तथा राहत कदममा पूर्ण साथ दिने प्रतिबद्धता दलहरूले व्यक्त गरेका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपीडितका लागि सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार आकस्मिक सचिवालय बैठकले सांसद तथा पार्टीका तर्फबाट सो रकम सहयोग गर्ने र एकद्वार प्रणालीमार्फत स्थानीय प्रशासनसँग समन्वय गरी राहत वितरण गर्ने निर्देशन दिएको छ।
उद्धार र सहयोगमा दलहरूको पहल
नेपाली कांग्रेस: सभापति गगन थापाको अध्यक्षतामा बसेको आकस्मिक बैठकले निर्धारित सबै औपचारिक कार्यक्रम स्थगन गर्दै नेता-कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन दिएको छ। रसुवाका सांसद मोहन आचार्यको समन्वयमा सरकारी संयन्त्रसँग सहकार्य गरिने कांग्रेसले जनाएको छ।
नेकपा एमाले: अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सम्पूर्ण जनसंगठन र कार्यकर्तालाई सुरक्षा निकायसँग समन्वय गरी मानवीय सहायता, बेपत्ताको खोजी र क्षति विवरण संकलनमा अग्रपंक्तिमा खटिन आह्वान गरेका छन्।
नेकपा: खोजी, उद्धार र राहत कार्यलाई व्यवस्थित बनाउन नेता गंगालाल तुलाधरको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ।
श्रम संस्कृति पार्टी: अध्यक्ष हर्क साम्पाङले ‘एक टिम, एक राष्ट्र’ को भावनाका साथ काम गर्न आग्रह गर्दै सीमापारि पूर्वसूचना प्रणाली र आधिकारिक सञ्चारलाई प्रभावकारी बनाउन माग गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई उद्धारमा खटिन अपिल गर्दै सरकारलाई सबै संयन्त्र उच्च सतर्कताका साथ परिचालन गर्न आग्रह गरेका छन्।
सरकारी निकाय, सेना र प्रहरी रातभर खोजी तथा उद्धार कार्यमा खटिएका छन् भने बाढी प्रभावित क्षेत्रमा बिजुली र सञ्चार सम्पर्क पुन:स्थापनाको प्रयास जारी छ।