काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मङ्गलबार साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मगरले बहुमत सिद्ध गर्दै आफ्नो सरकारलाई तत्कालका लागि सुरक्षित बनाएका हुन्।
१०४ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्नेमा मुख्यमन्त्री मगरले ५७ मत प्राप्त गरे। उनको पक्षमा सत्तारूढ नेकपा (एमाले) का २४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७ सांसदले मतदान गरेका छन्।
सत्तारूढ गठबन्धनभित्रको अन्योल र ६ बुँदे सहमति
विश्वासको मत लिनुअघि सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबण्डा, मन्त्री छनोट र पावर सेयरिङलाई लिएर तीब्र असन्तुष्टि देखिएको थियो। विवादका कारण नेकपाका केही सांसदहरू बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे अन्योल सिर्जना भएको थियो। तर, प्रदेश सभा बैठक बस्नुअघि सत्तारूढ तीन दलबीच ६ बुँदे सहमति कायम भएपछि प्रक्रिया अघि बढेको हो।
यस्तै, सोमबार सहमति जुट्न नसक्दा पटक-पटक सारिएको प्रदेश सभा बैठक स्थगित भएको थियो भने मङ्गलबार पनि निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी मात्रै बैठक सुरु भएको थियो।
राप्रपामा ह्विप उल्लङ्घन र ‘फ्लोर क्रस’
राप्रपाभित्र संसदीय दलका नेता उद्धव थापाको भूमिकालाई लिएर पार्टी केन्द्र र प्रदेशबीच विवाद कायमै थियो। पार्टी केन्द्रीय निर्देशनविपरीत सरकार गठनमा समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कारबाही गरेको थियो भने प्रमुख सचेतक कुमारी तामाङले विश्वासको मतको विपक्षमा उभिन ह्विप जारी गरेकी थिइन्।
तर, ह्विपको बेवास्ता गर्दै राप्रपाका सातै जना सांसदले मुख्यमन्त्रीको पक्षमा ‘फ्लोर क्रस’ गरी मतदान गरे। विश्वासको मत दिनेमा संसदीय दलका नेता उद्धव थापासहित सांसदहरू गिरबहादुर तामाङ, राजु श्रेष्ठ, राजेन्द्र प्रजापति, मनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ रहेका छन्।
प्रतिपक्षी दलहरूद्वारा बैठक बहिष्कार
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक प्रतिपक्षी दलहरूले भने पूर्ण रूपमा बहिष्कार गरे। नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी बैठकमा सहभागी भएनन्। बागमती प्रदेश सभाका ६ दलमध्ये तीन सत्तारूढ दलहरूको मात्रै उपस्थितिमा मुख्यमन्त्री मगरले बहुमत प्राप्त गरेका हुन्।