काठमाडौँ — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री महावीर पुन मन्त्रालयको संरचना निर्माण र कानुन तर्जुमाको काममा दिनरात खटिएका छन्। मन्त्रालयमै कार्यकक्ष र शयनकक्ष बनाएर बसिरहेका मन्त्री पुनले ९० जनाको दरबन्दी स्वीकृत गराई हाल २५ जना कर्मचारीको सहयोगमा मन्त्रालय सञ्चालन गरिरहेका छन्। ३ अर्ब बजेट रहेको मन्त्रालयको प्रशासनिक खर्च भने करिब ८ करोड मात्र लाग्ने अनुमान गरिएको छ।
मन्त्रालयलाई बृहत् र प्रभावकारी बनाउन मन्त्री पुनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र, र मौसम विज्ञान विभागलाई यसै मन्त्रालय मातहत ल्याउने तयारी गरेका छन्। यसका साथै विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक र नास्ट, प्लानेटेरियम तथा ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन नियमावली, २०८३’ को मसौदा तयार गरी राय सुझाव माग्ने काम भइरहेको छ।
काममा कुनै मन्त्रालय वा निकायबाट ढिलासुस्ती भएमा मन्त्री पुन आफैँ फोन घुमाउने र सम्बन्धित ठाउँमै पुग्ने गरेकाले कामले तीव्र गति लिएको छ। नयाँ बन्ने ऐनले वैज्ञानिक अनुसन्धान, खगोल विज्ञान, पारमाणविक प्रविधिको नियमन, र ‘इन्डस्ट्री ४.०’ तथा ‘इन्डस्ट्री ५.०’ जस्ता नवीन अवधारणाको प्रवर्धनका लागि ठोस कानुनी आधार प्रदान गर्नेछ।