काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले लामो समय बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको बताएका हुन्।
२०७३ असोजमा मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी र मानवअधिकार उल्लंघनका घटनाहरूको निष्पक्ष छानबिनका लागि सरकारले लाल आयोग गठन गरेको थियो। आयोगले प्रतिवेदन बुझाएको वर्षौँ बितिसक्दा पनि कुनै पनि सरकारले यसलाई सार्वजनिक नगरेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा थापाले लेखेका छन्, “सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ— अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्।”
२०७४ सालदेखि नै हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्ने आवाज उठ्दै आएको स्मरण गराउँदै उनले विभिन्न राजनीतिक दलहरूले सरकारमा जानुअघि यससम्बन्धी प्रतिबद्धता जनाए पनि सत्तामा पुगेपछि कार्यान्वयन नगरेको स्वीकार गरे। विगतका सरकारबाट कमजोरी भएको भए पनि त्यसैलाई कारण बनाएर अब प्रतिवेदन रोकिराख्न नहुने उनको तर्क छ।
आयोग गठन भएको एक दशक पुग्नै लाग्दा पनि सत्यतथ्य ओझेलमा पर्नु दुभाग्योपूर्ण रहेको भन्दै नेता थापाले यसपटक यो विषय प्रतिबद्धतामा मात्र सीमित नभई व्यावहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।