नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक सुगौली सन्धिपछिकै भयानक राष्ट्रिय स्वाधीनताको संकटमा परेको बताउनुभएको छ। काठमाडौँमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान असाधारण परिस्थितिबाट पार पाउन र जनताको समृद्धि चाहना पूरा गर्न कम्युनिस्ट शक्तिहरूबिचको एकता मुख्य साँचो भएको स्पष्ट पार्नुभयो।
संयोजक दाहालले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा संकट उत्पन्न भएको स्वीकार गर्दै दोषारोपणभन्दा सामूहिक आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिनुभयो। केवल सरकार निर्माण र परिवर्तन जस्ता सत्ता केन्द्रित राजनीतिमा मात्र भुल्दा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको उहाँको भनाइ थियो।
विगतमा नेकपा (एमाले) लगायतका वामपन्थी दलहरूसँग भएका सहकार्य, एकता र बलिदानीको अनुभवबाट पाठ सिक्दै कमीकमजोरी नदोहोरिने गरी नयाँ ढङ्गको वर्गसङ्घर्ष र रणनीतिक सहकार्यका लागि अघि बढ्न दाहालले सम्पूर्ण वामपन्थी शक्तिहरूलाई विशेष अपिल गर्नुभएको छ।