राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा सम्पन्न प्रथम महाधिवेशनपछि पार्टीका विभिन्न पदाधिकारी, विभाग प्रमुख, सचिवालय र केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरे पनि अति महत्वपूर्ण मानिएका उपसभापति र महामन्त्री पद भने अझै रिक्त राखेका छन्। पार्टी र सरकारबिच प्रभावकारी समन्वय कायम राख्न यी पदहरू अत्यावश्यक मानिएका छन्। सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको समूहका लागि यी दुवै पद छुट्याएकाले सोही तर्फबाट स्पष्ट नाम नआएसम्म मनोनयन पन्छाउने रणनीति लिएको देखिन्छ।
यस पटक उपसभापति र महामन्त्री दुवै पदमा तीव्र आकांक्षीहरू देखिएका छन्। उपसभापति पदका लागि बालेन शाहको रोजाइमा सुनिल लम्साल रहे पनि गृहमन्त्री सुधन गुरुङले पनि सोही पदमा दाबी प्रस्तुत गरेका छन्। त्यसैगरी महामन्त्री पदका लागि भूपदेव शाह र सुदीप ढकालबिच प्रतिस्पर्धा देखिएको छ। शुक्रबार सम्पन्न मनोनयनमा गुरुङ, लम्साल र शाह केन्द्रीय सदस्य बने पनि मुख्य पदहरूबारे अन्तिम टुङ्गो लाग्न बाँकी नै छ।
केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता बालेन शाह अनुपस्थित रही पोखरा लागेपछि मनोनयन रोकिनुमा थप संशय पैदा भएको छ। यद्यपि, रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार वरिष्ठ नेताको उपस्थिति बैठकका लागि बाध्यकारी हुँदैन। साथै, दाबी गर्नेहरू धेरै भएर वा विवाद भएर मनोनयन रोकिएको नभई विधान अनुसार क्रमशः (स्टेपवाइज) पदपूर्ति गर्दै लैजाने योजना मुताबिक नै उपसभापति, महामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षका पदहरू पछि मनोनयन गर्न लागिएको हो।