बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का किरण थापा मगरले आफ्नो दाबी पेश गर्नुभएको छ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनसहित थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो।
एमाले र नेकपा गठबन्धनबीच भएको शक्ति बाँडफाँडअनुसार बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको थियो। सोही सहमतिबमोजिम एमालेले मङ्गलबार थापालाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको थियो।
कुल १०४ सदस्यीय बागमती प्रदेश सभामा नयाँ सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्दछ। थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद गरी कुल ६३ जनाको स्पष्ट बहुमतसहित दाबी पेश गर्नुभएको छ।
यसअघिका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत पुर्याउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो। दाबी पेश गर्नका लागि भदौ ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको थियो।
राप्रपाले समर्थन गरेसँगै एमाले–नेकपा गठबन्धनलाई बागमतीमा सरकार बनाउन आवश्यक बहुमत सुनिश्चित भएको छ। बहुमतको दाबी पेश भएसँगै प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने कानुनी प्रक्रिया अगाडि बढाउनुहुनेछ।
प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार आजै नयाँ मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहणको तयारी भइरहेको छ।