आगामी भदौ १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त दिन प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम निर्धारण गरिएको औपचारिक जानकारी गराएका हुन्।
प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद ९ बमोजिम भदौ १० गतेको बैठकमा प्रश्नोत्तर सञ्चालन हुने गरी कार्यसूची तयार पारिएको हो। सभामुख अर्यालले प्रश्न सोध्न चाहने सांसदहरूलाई पूर्वस्वीकृतिका लागि नाम दर्ता गराउन आग्रह गरेका छन्। नियमावली अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक जना माननीय सदस्यको सहभागिता रहने गरी बढीमा १५ वटा प्रश्न सोध्न सकिने व्यवस्था छ।
प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने प्रावधान रहेको छ। विपक्षी दलहरूले सोही व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै लगातार आवाज उठाउँदै आएका थिए।
संसद्मा विपक्षी दलहरूको विरोध र मागपछि सभामुख अर्यालले सोमबारकै बैठकमा प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भई सांसदका प्रश्नहरूको जवाफ दिन रुल्स (निर्देशन) जारी गरेका थिए। त्यसपश्चात् भदौ १० गतेका लागि प्रश्नोत्तरको मिति तय गरिएको हो।