नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भन्ने आलोचनाप्रति कडा टिप्पणी गर्दै असन्तुष्ट पक्षलाई महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिएका छन्।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व परिवर्तन गरी पार्टीको बागडोर सम्हाल्न इतर समूहलाई आह्वान गरे।
“मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्ने कुरा पनि उठेको रहेछ, होला पनि,” बैठकमा बोल्दै थापाले भने, “त्यसो हो भने यही विषय महाधिवेशनमा लिएर गए हुन्छ। महाधिवेशनमा अर्को साथीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ र मलाई हराएर पार्टीको नेतृत्व सम्हाल्न सक्नुहुन्छ।”
सभापति थापाले महाधिवेशनलाई समावेशी, न्यायपूर्ण र निष्पक्ष बनाउन जुनसुकै सर्त र प्रक्रियामा छलफल गर्न आफू तयार रहेको स्पष्ट पारे। सबैको सहभागिता, निष्पक्षता र समान अवसर सुनिश्चित हुने वातावरण निर्माण गर्न पार्टी नेतृत्व सकारात्मक रहेको उल्लेख गर्दै उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पारदर्शी प्रतिस्पर्धा आवश्यक रहेको बताए।