काठमाडौँ,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलन हुल्लडबाजीका माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयास भएको दाबी गरेका छन्।
झापामा आयोजित पार्टीको जिल्ला भेला तथा जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ को निर्वाचनको तमासामार्फत वैधता दिने काम भएको आरोप लगाए।
प्रतिनिधि सभा पुनःस्थापनाको मागमा अन्य राजनीतिक दलहरूले एमालेलाई मात्र असर पर्ने ठानेर साथ नदिएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, *”चुनावलाई एमालेका लागि खनिएको खाल्डो मानेर बसेका दलहरू आफैँ फसेका छन्।”*
‘एउटा मोर्चा हार्दैमा समग्र युद्ध हारिँदैन’
निर्वाचनका क्रममा एमालेमाथि चौतर्फी हमला भएको र सहज रूपमा हिँडडुल गर्ने वातावरणसम्म नरहेको उल्लेख गर्दै ओलीले चुनावमा पराजय भोग्नुपरे पनि एमाले कायर र भगौडाहरूको पार्टी नभएको स्पष्ट पारे।
कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ अघि बढ्न निर्देशन दिँदै उनले थपे, *”एउटा मोर्चामा हार्दैमा समग्र युद्ध हारिँदैन। एक गोल खाएपछि अब १० गोल फर्काउन कसैले रोक्न सक्दैन।”*
प्रतिगमन सच्याउन आन्दोलनको आवश्यकता
देशमा प्रतिगमन भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसलाई सच्याउन र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमालेले आन्दोलनको मोर्चा छेड्नुपर्ने बताए। आगामी प्रदेश निर्वाचनलाई लक्षित गरी हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी टोल, बस्ती र घरघरमा पुग्न उनले आग्रह गरे।
नागरिक तथा विशेष गरी महिला मतदाताले यस पटक गलत ठाउँमा मतदान गरेको उल्लेख गर्दै उनले जनता र पार्टी दुवैबाट भएका कमजोरीहरूलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए।
साम्प्रदायिकता फैलाउने तत्त्वविरुद्ध सतर्क रहन आग्रह
मधेसी, पहाडी, दलित, गैरदलित तथा धर्मको नाममा साम्प्रदायिक हिंसा र विभाजन फैलाउने तत्त्वहरू सक्रिय रहेको भन्दै ओलीले त्यस्ता गतिविधि रोक्नुपर्ने बताए। अहिलेसम्म मुलुकलाई साम्प्रदायिकताबाट जोगाउने काम एमालेले नै गरेको उनको दाबी थियो।
राजतन्त्रकालदेखि नै जेल-यातना र अप्ठेरा परिस्थितिको सामना गर्दै सिद्धान्तमा अडिग रहेको एमालेले नै आगामी दिनमा देशको विकास र सार्वभौमसत्ताको रक्षा गर्ने प्रतिबद्धता उनले जनाए।
एमाले सरकारका उपलब्धि र उद्धार कार्यको स्मरण
आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामहरूको चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी, मदन भण्डारी र पुष्पलाल राजमार्ग निर्माणका साथै ताप्लेजुङ तथा हुम्लाजस्ता दुर्गम ठाउँमा सडक र कालोपत्रे पुर्याउने काम एमालेकै पालामा भएको स्मरण गराए।
साथै, महाभूकम्पका बेला २८ हजार अस्थायी घर बनाएर पीडितलाई हस्तान्तरण गरेको, १३ हजार विद्यालय पुनर्निर्माण गरेको र कोभिड सङ्कटका बेला एमाले कार्यकर्ताहरूले उदाहरणीय स्वयम्सेवी काम गरेको उनले उल्लेख गरे।