काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा जबरजस्ती विशेष महाधिवेशन गरेर धेरै नेता-कार्यकर्ताहरूलाई अन्यायपूर्ण तरिकाले बाहिर पारिएको आरोप लगाएका छन्।
काठमाडौँमा कांग्रेस संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलाको समापन समारोहमा आइतबार सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारितासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले सम्मानित अदालतबाट आउने निर्णय आफूहरूलाई मान्य हुने स्पष्ट पारे।
आफ्नो धारणा राख्दै पूर्वसभापति देउवाले भने, “मैले सुरुमै यसरी विशेष महाधिवेशन नगरौँ, सबैको सहमतिमा मात्र गरौँ भनेर प्रस्ताव गरेको थिएँ। तर जबरजस्ती तरिकाले महाधिवेशन गरेर धेरै साथीहरूलाई अन्यायपूर्वक बाहिर राखियो। त्यसैको विरुद्धमा हामी कानुनी उपचारका लागि अदालत गएका हौँ।”
अदालतबाट अन्तिम र पूर्ण निर्णय आउन बाँकी रहेको उल्लेख गर्दै उनले न्याय पाइनेमा आफू पूर्ण विश्वस्त रहेको बताए।”अदालतमा मुद्दा विचाराधीन रहेकाले यसबारे धेरै बोल्नु उपयुक्त हुँदैन। तर मलाई विश्वास छ, सर्वोच्च अदालतबाट हामीले न्याय पाउनेछौँ,” उनले थपे।
आफ्नो राजनीतिक जीवनमा न्यायलयले सधैँ सही मूल्यांकन गरेको स्मरण गराउँदै देउवाले भने, *”विगतमा राजाको शासनकालमा शाही आयोग खारेज गरेर होस् या पञ्चायतकालको जेल जीवनमा—न्यायालयले सधैँ हामीलाई न्याय दिएको छ। अहिले पनि न्यायलयकै कारण म यो स्थितिमा छु।”
संस्थापन इतर पक्षको यस भेलासँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र कानुनी लडाइँ थप चर्चाको विषय बनेको छ।