ओलीको असन्तुष्टि : महासचिव पोखरेलले लेखेको प्रतिवेदन संशोधन गर्न ‘बादल’लाई निर्देशन

ओलीको असन्तुष्टि : महासचिव पोखरेलले लेखेको प्रतिवेदन संशोधन गर्न ‘बादल’लाई निर्देशन

  • आइतवार, साउन ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई लिएर पार्टीभित्र तीव्र विवाद र खैलाबैला उत्पन्न भएको छ। कार्यदलका सदस्यसचिव एवं महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनका कतिपय विषयप्रति अध्यक्ष केपी शर्मा ओलीले कडा आपत्ति जनाउँदै परिमार्जन गर्न संयोजक रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्।

वरिष्ठ उपाध्यक्ष थापाको नेतृत्वमा गत जेठ १० गते गठित १५ सदस्यीय कार्यदलले प्रदेश तथा तल्लो तहका भेला र छलफलबाट प्राप्त सुझावका आधारमा असार २३ को निर्णयअनुसार प्रतिवेदन लेखनको जिम्मेवारी थापा र पोखरेललाई दिएको थियो। पोखरेलले तयार पारेर बुझाएको प्रतिवेदनमा अध्यक्ष ओलीले नैतिक जिम्मेवारी लिँदै पद त्याग गर्नुपर्ने र आउँदो भदौ वा असोजसम्म महाधिवेशन प्रतिनिधि परिषद्को भेला बोलाउनुपर्ने सुझाव समेटिएपछि ओली रुष्ट बनेका हुन्।

ओलीनिकट एक पदाधिकारीका अनुसार ओली नेतृत्वको सरकारको असफलता र फागुन २१ को चुनावमा व्यहोर्नुपरेको पराजयको समीक्षा गर्दै तल्लो तहबाट अध्यक्षको राजीनामाको दबाब आएको प्रतिवेदनमा उल्लेख छ। यस विषयमा ओलेले बुधबार साँझ महासचिव पोखरेलसँग आपत्ति जनाउँदै प्रतिवेदन परिमार्जन नगरी कार्यदलको बैठक अघि नबढाउन संयोजकसमेत रहेका उपाध्यक्ष थापालाई निर्देशन दिएका छन्।

यद्यपि, कार्यदलभित्रै ओलीले राजीनामा दिएर समग्र कमिटी पुनर्गठन गर्नुपर्ने पक्षमा बहुमत नेताहरू उभिएका छन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल स्वयं पनि ओलीको बहिर्गमन र पार्टी पुनर्गठनको पक्षमा रहेको कार्यदलका एक सदस्यले बताए।

अर्कातिर, कार्यदलका सदस्य रहेका सचिवहरू शेरधन राई, राजन भट्टराई र भानुभक्त ढकालले भने प्रतिवेदन आफूहरूले अझै नपाएको र बाहिर आएका विषयहरू आधिकारिक नभएको दाबी गरेका छन्। सचिव भट्टराईले प्रतिवेदन कार्यदलमा छलफल भएर टुंगिन बाँकी रहेको र अध्यक्षको राजीनामा माग्ने कुरा नभई चुनावी पराजयको समीक्षा मात्र गरिएको जिकिर गरे। उनले प्रतिवेदनमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान पुनः ब्युँताउने विषयमा भने चर्चा भएको स्वीकारेका छन्।

त्यस्तै, सचिव राई र ढकालले कार्यदलको औपचारिक बैठकमा पेस नै नभएको प्रतिवेदन सञ्चारमाध्यममा आउनु बदनियतपूर्ण भएको टिप्पणी गर्दै अध्यक्षले बैठक रोकेको भन्ने आरोपको खण्डन गरेका छन्। कार्यदलकी अर्की सदस्य पद्मा अर्यालले पनि प्रतिवेदनलाई लिएर अध्यक्षको सहमति वा असहमतिका विषयमा आफूहरूलाई आधिकारिक जानकारी नभएको बताएकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी