दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम

दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

काठमाडौँ, २८ साउनः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपालको संविधानको धारा ४० मा व्यवस्था गरिएअनुसार दलित समुदायको मौलिक हकलाई कार्यान्वयन गर्न कानुन आयोगबाट ‘दलितको हक, अधिकार तथा विकास’ सम्बन्धी विधेयक तर्जुमा गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले सो विधेयकको मस्यौदालाई विधायन ऐन, २०८१ अनुसार कार्यप्रक्रिया अगाडि बढाउन विज्ञसहितको समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँले दलित समुदायको हक, अधिकार तथा विकासका सम्बन्धमा सदनबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारले गत चैत १३ को शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गतको बुँदा नम्बर ५ मा दलित समुदायसँग औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने विषय समावेश गरिसकेको बताउनुभयो ।

यसको मुख्य उद्देश्य दलित समुदायको संरक्षण, प्रवर्द्धन, सशक्तिकरण र सामाजिक न्याय सुनिश्चित गर्दै राज्यका हरेक संयन्त्रमा यस समुदायको समान पहुँच र सहभागिता बढाउनु रहेको मन्त्री गौतमको भनाइ छ । उहाँका अनुसार यस विधेयकले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, परम्परागत पेसाको संरक्षण, भूमि तथा आवास र सेवासुविधाको न्यायोचित वितरणलगायत महत्त्वपूर्ण सामाजिक, आर्थिक अधिकारलाई समेटेको छ ।

यसैगरी सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाइने, देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बालपोषण भत्तालाई दोब्बर गरी मासिक रु एक हजार बनाइएको मन्त्री गौतमले जानकारी दिनुभयो । दलित समुदायको परम्परागत सीप संरक्षण, आयआर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलापसहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढाइने उल्लेख गर्दै उहाँले देशैभरिका पाँच वर्षमुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु तीन अर्ब बजेट विनियोजन भएको बताउनुभयो ।

त्यस्तै भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाइने मन्त्री गौतमले उल्लेख गर्नुभयो । उहाँले दलित समुदायको परम्परागत मौलिक सीप, कला तथा पेसाको प्रवर्द्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना घरबास सञ्चालन गरिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी