साउन, २८ काठमाडाैं । अवैध सम्पत्ति थुपारेकाे आराेप लागेपछि पाँच महिना पहिले उपचारका नाममा विदेश पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज अपरान्ह नेपाल फिर्ता हुँदैछन् ।
उनकाे स्वागत गर्न उनी पक्षधर नेताहरूले फुर्तिसाथ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउन कार्यकर्ताहरूलाई उर्दी जारी गरेका छन् । त्यसपछि उनका युवाहरूले सरकारले देउवामाथि कुनै कसुरकाे नाममा छुने काम गरेमा ‘रक्तपात’ हुने चेतावनी दिइरहेका छन् ।
उर्दीबमाेजिम स्वागतमा जान काठमाडाैंका कलेजबाट नेविसंघ, तरूण दलका युवाहरू तयारीमा जुटेका छन् । मुख्यगरी मिनभवनस्थित नेपाल कमर्श क्याम्पसमा विभिन्न क्याम्पसका विद्यार्थी नेताहरू जम्मा भएर नारा जुलुससहित विमानस्थल जाने तयारीमा जुटेका छन् । कमर्श क्याम्पसमा अहिले सय जना जति ठिटाहरू भएका छन् । ५० वटाकाे हाराहारिमा जम्मा भइसकेका माेटरसाइकलमा जाँदैछन् । केही संख्यामा ट्याक्सी पनि जम्मा गराएका छन् ।
स्पाेर्टस् सुजमा देखिएका ठिटाहरू धेरैजसाे लामाे पालेका, कानमा मुन्द्रा लगाएका, कालाे चश्मा र हातभर ट्याटू र ओैंलाहरू रंगिन ओैंठी सजाइएका देखिन्छन् । केहिबेरमै माेटरसाइकल र्याली सहित विमानस्थल जाँदैछन् । तर भेला भएका ठिटाहरूका समूह नेताले मैदानमै नेतासँग ठिटाहरूकाे तत्काल ५० वटा माेटरसाइकलमा ५ लिटरका दरले माेटरसाइकलमा पेट्राेल हाल्नुपर्ने सर्त अघि सारेका छन् । नेता भने अहिलेलाई ‘काम चलाउ न’ भनेर टारिरहेकाे पाइन्छ । स्वागत गर्न पार्टीका केही नेता कार्यकर्ता विमानस्थल पुगिसकेका छन् ।
क्याम्पस हातामा बाक्लाे संख्यामा भीड जम्मा भएपछि ठूलाे संख्यासहित प्रहरी टाेली पनि परिचालन गरिएकाे छ ।