काठमाडौँ, २६ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी युवाको सहकार्यमा राज्यको भविष्य निर्माण गर्नुपर्ने धारणा राख्नुभएको छ ।
आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले अन्तरराष्ट्रिय युवा दिवसको विषयमा विचार राख्नुभएको थियो । यसै सन्र्दभमा उहाँले जेनजी आन्दोलनको पृष्ठभूमि युवा भएको स्मरण गर्दै नेपालको बदलिदो भविष्यका लागि युवा अपरिहार्य रहेको बताउनुभयो ।
उहाँका अनुसार करिब ४३ प्रतिशत जनसङ्ख्या रहेको युवाका मुद्दालाई राजनीतिकको मूलधारमा ल्याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले सदनमा भन्न्भयो, “आजको युवा पुस्ताले केवल मतदान गरेर मात्रै होइन, पुरानो राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएर परिवर्तनको ढोका खोलेको छ ।”
मुख्य सचेतक बुर्लाकोटीले युवाको समस्या बेरोजगारी मात्रै नभई लागुऔषध, मानसिक स्वास्थ्य, तनाव परामर्शको अभाव, निराशा र भविष्यप्रतिको अनिश्चिततालगायत रहेको बताउनुभयो । यी समस्याको समाधान गर्न आफ्नो पार्टी संवेदनशील रहेको बताउनुभयो ।