तिम्बुङ पोखरीः प्रकृतिसँगको साक्षात्कार

तिम्बुङ पोखरीः प्रकृतिसँगको साक्षात्कार

  • मङ्लबार, साउन २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

ताप्लेजुङ, २६ साउनः हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय पूर्वी नेपालको आकर्षक साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

यस पोखरीको प्रचारप्रसार बढ्दै जाँदा यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढेको छ । हाल दैनिक सरदर दुई दर्जन बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । यहाँको प्रचारप्रसारसँगै पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी अमिर राई बताउनुहुन्छ । उहाँले तिम्बुङ पोखरीमा आउने पर्यटकको सुविधाका लागि पहिलोपटक सबैभन्दा माथि अर्थात् पोखरी नजिकै होमस्टे(घरवास पर्यटन) खोल्नुभएको छ ।

समुद्री सतहदेखि करिब चार हजार ३५० मिटरको उचाइमा अवस्थित तिम्बुङ पोखरी पुग्नु आफैँमा एउटा अविस्मरणीय यात्रा हो । सदरमुकाम फुङलिङबाट करिब पाँचदेखि छ घण्टाको सवारी यात्रा र त्यसपछि एक दिनको पैदल यात्रा तय गरेपछि पुगिने यो पोखरीले यात्रुलाई केवल गन्तव्यको आनन्द मात्र होइन, यात्राका क्रममा नै प्रकृतिसँगको गहिरो साक्षात्कार पनि गराउँछ । तिम्बुङ पोखरी पुग्ने अधिकांश मानिसले स्वर्गकै अनुभूति हुने गरेको बताउँछन् ।

एक वर्ष पहिले तिम्बुङ पोखरी पुग्नुभएकी पवित्रा लिम्बूलाई पुनः एकपटक तिम्बुङ पोखरी पुग्ने रहर छ । “पहिले तिम्बुङ पोखरी पुग्दा मैले जे अनुभव गरेँ, त्यो शब्दमा व्यक्त गर्न सक्दिन, त्यो यात्राले मेरो जीवनमा अविस्मरणीय सम्झना थपेको छ, यहाँको प्राकृतिक सौन्दर्य साँच्चै स्वर्गजस्तै लाग्यो”, लिम्बूले भन्नुभयो ।

यता पटक–पटक पुगे पनि फोटोपत्रकार डेभिट ओझा रहर मेटिएको छैन । ओझा भन्नुहुन्छ, “हरेक पटक पुग्दाको मौसम, त्यहाँको प्राकृतिक वातावरणले गहिरो छाप छोड्ने गर्छ, शान्त वातावरण, हिमालको सौन्दर्य, साहसिक पदयात्रा र त्यस क्षेत्रमा हुने स्वागत सत्कार लोभ लाग्दो छ ।” कतिपय परम्परागत गोठहरू गोठस्टे (पर्यटकलाई राख्न सकिने गोठ) मा परिणत हुँदा र नयाँनयाँ होमस्टे थपिँदा आफ्नोमा आकर्षण गर्न गोठस्टे, होमस्टेले स्वागत सत्कारका नयाँनयाँ तरिका अपनाउने गरेको उहाँले बताउनुभयो । कतै छुर्पी खुवाएर, कतै तातोपानी, चिया खुवाएर आफ्नो परिवेशका कुरा सुनाएर यहाँका व्यवसायीले मक्ख बनाउने गरेको उहाँको अनुभव छ ।

पदमार्गमा गोठस्टेको आकर्षण

आन्तरिक पर्यटकको आगमन बढेसँगै तिम्बुङ पोखरी जाने पदमार्गमा रहेका परम्परागत गोठहरू अहिले गोठस्टेमा रूपान्तरण हुन थालेका छन् । विभिन्न खर्कमा रहेका परम्परागत गोठका संरचनामा थप सुधार गरेर पर्यटकलाई खान बस्नको सुविधा सम्पन्न बनाइएका छन् । पहिले तिनै गोठमा असहज रुपमा बस्नुपथ्र्यो । तिम्बुङ क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि गोठस्टेमा परिणत गर्नुपरेको एक पशुपालक व्यवसायीले बताउनुभयो । स्थानीय गाउँहरूमा होमस्टे र साना गेष्टहाउस पनि सञ्चालनमा आएका छन् । यसले तीन वर्षअघिको तुलनामा पर्यटकलाई सहज हुन थालेको छ । तिम्बुङ पोखरीमा तीन वर्षयता उल्लेख्य रूपमा पर्यटकहरूको आगमन बढ्न थालेको हो ।

यहाँका गोठस्टेमा बस्नु बिलकुल फरक र रोचक अनुभव प्राप्त गर्नु हो । सहर तथा भीडभाडबाट केही दिन टाढिँदै गर्दा लेकका फाट्टफुट्ट गोठमा बस्दा जो कसैलाई फरक र रोचक अनुभव हुनेगर्छ । याक र चौँरी पाल्ने गोठालासँग आगो ताप्दै जीवनका भोगाइ सुन्ने, अगेनामा उम्लिरहेको ताजा दूधको सुवास महसुस गर्ने, लहरै झुन्ड्याइएका छुर्पी हेर्ने र त्यही दूधजन्य उत्पादनको स्वाद लिन पाउनु यात्राको विशेष आकर्षण बन्ने गर्छ । यस क्षेत्रमा खोलिएका होमस्टेहरूले पनि स्थानीय संस्कृति, हिमाली जीवनशैली र आत्मीय आतिथ्यको अनुभव गराउँदै आएका छन् । यात्राका क्रममा समय र आवश्यकताअनुसार गोठस्टे, होमस्टे वा गेष्टहाउस रोज्न सकिन्छ ।

प्राकृतिक वातावरणसँग साक्षात्कार

तिम्बुङ पोखरी आसपासमा विशेषगरी केन्जो पाइन्छ । पदमचाललाई केन्जो भन्ने गरिएको छ । पोखरीमै पुगेपछि केन्जोले सबैको मनलाई आकर्षित गर्ने गर्छ तर तिम्बुङ पोखरीको यात्रामा पोखरी पुग्नुअघि बाटोभरि विभिन्न हिमाली प्रजातिका फूलहरूले डाँडाकाँडालाई रङ्गीन बनाएका हुन्छन् । जहाँ बगैँचामा कोही मालीले रोपेको, हुर्काएको जस्तै गरी ढकमक्क फुलेका विभिन्न फूलले उतै घर सारौँ भन्ने धेरैलाई लाग्दो हो । चट्टानबीच छङ्छङ् गर्दै बग्ने ससाना खोल्साको मधुर आवाज, हरियाली वन, खुला चरन क्षेत्र र टाढासम्म देखिने हिमशृङ्खलाले सबैलाई स्वर्गकै आभास गराउँछ ।

तिम्बुङ पोखरी क्षेत्र प्राकृतिक सौन्दर्यले मात्र होइन, जैविक विविधताका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँ विश्व संरक्षण सूचीमा रहेको रेड पाण्डासहित बहुमूल्य जडीबुटी–केन्जो (पदमचाल), पाँचऔँलेलगायतका जडीबुटी पाइन्छन्, जसले तिम्बुङ पोखरीलाई अध्ययन अनुसन्धानको गन्तव्य पनि बनाएको छ ।

तिम्बुङ पोखरी धार्मिक रुपमा पनि महत्वपूर्ण

तिम्बुङ पोखरी प्राकृतिक रुपमा मात्रै नभई धार्मिक आस्थाको केन्द्र पनि हो । धार्मिक हिसाबले यसलाई महत्वपूर्ण मान्ने गरिएको छ । स्थानीय समुदायले यस पोखरीलाई आस्थाको केन्द्रका रूपमा लिँदै आएका छन् । यही धार्मिक महत्व र प्राकृतिक रूपमा सुन्दर भएकाले नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यमा तिम्बुङ पोखरीलाई पनि समावेश गरेको छ । यहाँ पूजा आराधना गरे मनोकामना पूरा हुने, अनिष्ट नहुने जनविश्वास रहिआएको छ । त्यसैले मानिसहरू धार्मिक हिसाबले समेत यहाँ पुग्ने गर्छन् ।

अझै चुनौती

पर्यटनको सम्भावना उच्च भए पनि तिम्बुङ पोखरी क्षेत्र पूर्वाधार विकासका हिसाबले भने अझै पछि परेको स्थानीयको भनाई छ । समाजसेवी कैलाश राईले पोखरी जाने पदमार्ग, विश्रामस्थान, अन्य आवश्यक संरचना निर्माणका लागि तीनै तहका सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । स्थानीय तहले केही लगानी गरे पनि त्यो पर्याप्त हुन नसकेको उहाँको भनाइ छ । यातायातका लागि सडकको स्तरोन्नति, पदयात्राका लागि पदमार्गको दिगो र भरपर्दो व्यवस्थापन हुन सके पर्यटकीय गतिविधि थप बढेर जाने उहाँको विश्वास छ ।

तिम्बुङ पोखरीको प्रचारप्रसारका लागि स्थानीय सरकारको सहयोगमा विभिन्न खेलकुदसहितका गतिविधि हुने गरेकाछन् । केही वर्ष पहिले यहाँ तिम्बुङपोखरी ट्रेल रन आयोजना गरिएको थियो । त्यसै क्रममा प्रचारप्रसारका अन्य गतिविधि समेत भएका थिए । त्यसपछि यहाँ क्रमस पर्यटकहरुको आगमन बढ्दै गएको पर्यटन व्यवसायी अमिर राईले बताउनुभयो ।

भारतको सिक्किमसँग सिमाना जोडिएको तिम्बुङ पोखरी आसपास हाँडी पोखरी, लक्ष्मी पोखरी, लाम पोखरीलगायत थुप्रै पोखरी रहेका छन् । पर्यटन व्यवसायीका अनुसार आवश्यक पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन र प्रभावकारी प्रचारप्रसार गर्नसके तिम्बुङ पोखरीलाई आधार बनाएर सिक्किम हुँदै भारतबाट आउने पर्यटकलाई पूर्वी नेपालको अन्य पर्यटकीय गन्तव्यसम्म आकर्षित गर्न सकिन्छ । यसरी पर्यटकीय परिपथ नै बनाएर अघि बढ्नसके जिल्लाको समग्र पर्यटन क्षेत्रले थप गति लिने र यसले सबैलाई फाइदा पुग्ने व्यवसायीको विश्वास छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक आस्था, स्थानीय संस्कृति र साहसिक पदयात्राको अनुपम सङ्गम बनेको तिम्बुङ पोखरी पूर्वी नेपालको उदाउँदो पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको र अझ व्यवस्थित पूर्वाधार, दिगो पर्यटन योजनासहित प्रवर्द्धन गर्न सकिए तिम्बुङ पोखरीले जिल्लालाई मात्रै नभई मुलुकलाई नै फाइदा पुग्ने पर्यटन व्यवसायीहरू बताउँछन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाअन्तर्गत पाँचथर ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पर्ने यस पोखरीमा पाँचथर, ताप्लेजुङ दुवै जिल्लाबाट पुग्न सकिने बाटोहरू छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी