काठमाडौँ २६ साउन,। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले समय मिलाएर छिट्टै छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको औपचारिक भेटमा प्रधानमन्त्री शाहले भ्रमणको इच्छा र प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशका साथै भारत भ्रमणका लागि पठाएको औपचारिक निमन्त्रणापत्र प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेका थिए।
चैतमा बालेन शाहले प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै भारतीय समकक्षी मोदीले बधाई र भ्रमणको निम्तो पठाएका थिए। तर, विभिन्न व्यस्तताका कारण दुई पक्षबीच औपचारिक भेटघाट हुन सकेको थिएन। सोमबारको भेटमा राजदूत श्रीवास्तवको निम्तो स्वीकार गर्दै प्रधानमन्त्री शाहले भने, “निमन्त्रणाका लागि धन्यवाद, म समय मिलाएर चाँडै भारत भ्रमण गर्नेछु।”
प्रधानमन्त्री बनेको साढे चार महिनापछि बालेन शाहले पहिलो पटक भारतीय र चिनियाँ राजदूतहरूसँग छुट्टाछुट्टै औपचारिक भेटवार्ता गरेका हुन्। करिब आधा घण्टा चलेको उक्त भेटमा प्रधानमन्त्रीको तर्फबाट मुख्य स्वकीय सचिव सुवास शर्मा, आईटी सल्लाहकार विवेक मिश्र र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने भारतीय टोलीमा डेपुटी चिफ अफ मिसन र राजनीतिक अधिकारीहरू संलग्न थिए।
भ्रमणको तयारी र भावी कसरत
प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई लिएर परराष्ट्र वृत्तमा विभिन्न कसरत सुरु भएका छन्। यसअघि असार दोस्रो साता प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरी भ्रमणको वातावरण बनाएका थिए।
प्रधानमन्त्री शाहको भ्रमणको एजेण्डा तय गर्न भारतका विदेशमन्त्री एस जयशंकर अगस्टको अन्तिम साता नेपाल आउने सम्भावना रहेको स्रोतले जनाएको छ।
‘ब्रिक्स’ सम्मेलनमा सी र मोदीसँग दुर्लभ भेटको अवसर!
भारतले आगामी सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा ‘ब्रिक्स शिखर सम्मेलन’ आयोजना गर्दैछ। उक्त सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका शीर्ष नेताहरू सहभागी हुँदैछन्।
नेपाल ‘विम्स्टेक’ (BIMSTEC) को सदस्य राष्ट्र भएकाले ब्रिक्सको ‘आउटरिच’ (Outreach) सम्मेलनमा नेपाली प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने परम्परा छ। यदि प्रधानमन्त्री शाहको भारत भ्रमण यही समयमा तय भएमा उनले नयाँ दिल्लीमै चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकैसाथ भेटघाट र द्विपक्षीय संवाद गर्ने दुर्लभ अवसर प्राप्त गर्नेछन्।
यसअघि सन् २०१६ मा गोवामा आयोजित ब्रिक्स-विम्स्टेक आउटरिच सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सी र मोदीसँग एकै मञ्चमा अनौपचारिक संवाद गर्ने अवसर पाएका थिए। परिस्थितिले साथ दिएमा बालेन शाहले पनि सोही किसिमको कूटनीतिक सफलता हासिल गर्ने सम्भावना देखिएको छ।