काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज नेपालका लागि छिमेकी मुलुक भारत र चीनका राजदूतहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भारतीय राजदूतसँगको भेटलगत्तै उहाँले चिनियाँ राजदूतसँग पनि छुट्टै भेटवार्ता गर्नुहुनेछ।
यसका साथै, भोलि (मंगलबार) अमेरिकी दूतावासका उच्च अधिकारीहरूसँग पनि प्रधानमन्त्रीको भेटवार्ता तय भएको छ।
शुरुवाती दिनमा कूटनीतिज्ञहरूसँग सामूहिक बाहेक एक्लाएक्लै भेट नगर्ने नीति लिएका प्रधानमन्त्री शाहले पछिल्लो समय भने यसमा केही लचकता अपनाउनुभएको छ। गत चैत २५ मा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गर्नुभएका उहाँले असार २३ गते एसियाली विकास बैंक (ADB) का अध्यक्ष मासातो कान्दासँग पनि एक्लाएक्लै भेटवार्ता गर्नुभएको थियो।
द्विपक्षीय हित, कूटनीतिक सम्बन्ध र विकास साझेदारीका विषयमा छलफल गर्न यो कूटनीतिक दौडधुप तय भएको बताइएको छ।