मर्मिरे अनलाइन
काठमाडौँ, साउन २५। नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको आजको प्रथम र अपरिहार्य आवश्यकता सुदृढ एकता भएको बताउनुभएको छ। पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गर्दै संवाद र सहमतिबाट अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा पुनरावलोकनको निस्सा दिएपछिका सामाजिक सञ्जालका टीका-टिप्पणीले आफूलाई चिन्तित बनाएको खड्काले उल्लेख गर्नुभएको छ।
“इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकूल अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको र कांग्रेस इतिहासमै कमजोर अवस्थामा रहेको बेला सम्पूर्ण एकता नै मुख्य आवश्यकता हो,” सामाजिक सञ्जालमा लेख्दै खड्काले भन्नुभएको छ, “वर्तमान भीमकाय चुनौतीहरूको सामना गर्न प्रत्येक जिम्मेवार व्यक्ति आफ्ना व्यक्तिगत अस्वाभाविक महत्त्वाकाङ्क्षा, अहङ्कार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त हुनुपर्छ।”
खड्काले सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निस्सालाई पार्टी एकताका लागि अन्तिम अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ।
विशेष अपिल गर्दै उहाँले लेख्नुभएको छ, “पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष आग्रह छ— तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्। हामी अरू सबै यसका लागि सहयोगी बन्छौँ। तर निर्णायक तपाईं नै हो।”
सामाजिक सञ्जालको दोहोरी र गालीगलौजले कसैलाई फाइदा नपुग्ने भन्दै यस्तो प्रवृत्ति तत्काल बन्द गर्न र पार्टी एकताको वातावरण बनाउन खड्काले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता-कार्यकर्ताहरूलाई अपिल गर्नुभएको छ।