मर्मिरे अनलाइन
काठमाडौँ, साउन २५। सिंहदरबारको नाम परिवर्तनसम्बन्धी आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनुभएको छ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलको नाम परिवर्तन गरिए पनि ‘सिंहदरबार’ को नाम यथावत् राखिएकोमा प्रश्न उठाउनुभएको थियो। उहाँले ‘नेपालमा सिंह नै नभएको’ उल्लेख गर्दै सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्न सकिने टिप्पणी गर्नुभएको थियो।
उहाँको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आलोचना सुरु भएपछि ढकालले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। उहाँले सिंहदरबारको स्वभाव र भावभङ्गी शासकजस्तो देखिनुहुँदैन भन्ने सन्दर्भमा आफूले बोलेको दाबी गर्नुभएको छ।
“त्यो दरबारको स्वभाव र भावभङ्गी नाम जस्तै देखिनुहुन्न भन्ने सन्दर्भ थियो। यसपटकको होइन, पहिलेपहिलेकै परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भए, त्यसैले त्यसको पनि नाम परिवर्तन गरेर अरू नै राखिदिएको भए हुने थियो भनेको थिएँ,” ढकालले लेख्नुभएको छ।
साथै, आफूले बोलेको भिडियोको पूर्ण अंश हेर्नेहरूले आफ्नो तर्क बुझ्न सक्ने भन्दै उहाँले आफ्नो भनाइमा अडिग रहेको स्पष्ट पार्नुभएको छ। “म मेरो तर्कमा अडिग छु— सिंह दया र करुणाको प्रतीक होइन। सिंह हिंस्रककै प्रतीक हो, घमण्ड र शासककै प्रतीक हो,” स्पष्टीकरण दिँदै ढकालले लेख्नुभएको छ।