मिर्मिरे अनलाइन
काठमाडौँ, साउन २३।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीतिमा सोझो र सहज बाटोबाट सोचेको उपलब्धि हासिल गर्न नसकिने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता र नेतृत्वसम्म पुग्नका लागि राजनीतिमा अनेकौँ जोडघटाउ र गतिविधि हुने गरेको टिप्पणी गरे।
सम्बोधनका क्रममा अध्यक्ष ठाकुरले राजनीतिलाई ‘डर्टी गेम’ (फोहोर खेल) को संज्ञा दिँदै सहज बाटोबाट मात्रै अगाडि बढ्न असम्भव रहेको धारणा राखे। “राजनीति आफैँमा एउटा डर्टी गेम हो,” ठाकुरले भने, “यसमा सत्ता र नेतृत्वसम्म पुग्न अष्टावक्रझैँ टेढामेढा बाटो पार गर्दै अनेकौँ चुनौती तथा कठिनाइहरूको सामना गर्नुपर्ने अवस्था आउँछ।”
नेता ठाकुरले राजनीतिमा टिकिरहन र अधिकार तथा सत्ता प्राप्तिका लागि सधैँ सरल रेखामा हिँडेर नपुग्ने उल्लेख गर्दै परिस्थिति अनुसारका कठिन र अप्रत्यक्ष बाटाहरू सामना गर्न तयार हुनुपर्नेमा जोड दिए।