मिर्मिरे अनलाइन
विराटनगर, साउन २३।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने आफ्नो अडानबाट पछि हट्दै उनकै नेतृत्वलाई निरन्तरता दिन सहमति दिएका छन्। मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेससँग बनाएको भित्री समझदारी र धारा १६८ (५) को संवैधानिक जटिलता देखाउँदै राजीनामा नदिने अडान लिएपछि ओली पछाडि हटेका हुन्।
ओलीले गत साउन ९ गते प्रचण्ड नेतृत्वको नेकपासँग ३ बुँदे सहमति गरेपछि आफूविरुद्ध उभिएका नेताहरूलाई पाखा लगाउने रणनीतिअन्तर्गत कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए। तर, कार्कीले आफूलाई हटाए प्रदेश सभा नै विघटनको दिशामा जाने र आफूले संसदमा विश्वासको मत लिने स्पष्ट सन्देश दिएका थिए। एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले विराटनगर पुगेर कार्कीविरुद्ध संसदीय दलमा हस्ताक्षर संकलनको प्रयास गरे पनि बहुमत जुटाउन सकेका थिएनन्।
यसैबीच, प्रदेश सभामा कांग्रेसले कार्कीलाई दिएको समर्थन कायम राख्दै पार्टीले जबरजस्ती हटाए साथ दिने र संवैधानिक जटिलता आउन नदिने समझदारी कार्कीसँग गरेको थियो। यो घटनाक्रमले झस्किएका अध्यक्ष ओलीले साउन १९ गते मुख्यमन्त्री कार्कीलाई काठमाडौँ बोलाएर भक्तपुरको गुण्डुमा घण्टौँ एक्लै छलफल गरेका थिए।
छलफलका क्रममा कार्कीले आफू ओलीको विपक्षमा नभई प्रदेशको संवैधानिक र राजनीतिक स्थायित्वका लागि अडानमा रहेको स्पष्ट पारेका थिए। त्यसपछि साउन २० गते प्रदेश पदाधिकारी र वरिष्ठ नेताहरूको उपस्थितिमा भएको संयुक्त बैठकमा ओलीले कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय सुनाएका हुन्।
बागमती प्रदेशमा देखिएको विवाद, कांग्रेसको निरन्तर समर्थन र नेकपाले नयाँ मुख्यमन्त्रीका लागि उत्साह नदेखाएपछि अध्यक्ष ओली कोसीमा कार्कीलाई नै कायम राख्न तयार भएका हुन्। मुख्यमन्त्री पद सुरक्षित भएपछि कार्की विराटनगर फर्किएर प्रदेश सरकारको नियमित काममा फर्किसकेका छन्।