काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वमहामन्त्री डा. शशांक कोइरालासँगको हालैको भेटमा भएका रोचक प्रसङ्ग सार्वजनिक गरेका छन्।
शनिबार आयोजित श्यामबहादुर कार्की स्मृति कार्यक्रममा बोल्दै महामन्त्री थापाले डा. कोइरालासँग बीपी कोइरालाको व्यक्तित्व र आस्थाका विषयमा कुराकानी भएको बताएका हुन्।
भलाकुसारीका क्रममा आफूले डा. शशांकलाई भनेको कुरा सम्झिँदै थापाले भने, “तपाईंका लागि बीपी कोइराला भनेको पिता हुनुहुन्छ, तपाईंहरूको सम्बन्ध बुबा-छोराको हो। तर, हाम्रा लागि भने उहाँ भगवान् र भक्तको जस्तै सम्बन्ध हो।”
आफूले बीपीलाई कहिल्यै देख्न र भेट्न नपाएको उल्लेख गर्दै थापाले थपे, “म सानो हुँदै बीपीको स्वर्गवास भयो। न मैले उहाँलाई छोएको छु, न त प्रत्यक्ष सुनेको नै छु। तर आज पनि आँखा चिम्लिएर सोच्दा नेपालको सबैभन्दा विराट व्यक्तित्व र अनगिन्ती मानिसको जीवनमा प्रभाव पार्ने महापुरुषका रूपमा बीपीबाहेक अर्को आकृति नै आउँदैन।”
बीपीप्रति आफ्नो अटुट आस्था रहेको बताउँदै उनले अगाडि भने, “बीपीसँग मेरो कुनै प्रश्न छैन। प्रश्न नभएको सम्बन्ध नै आस्था हो, भगवानसँग के प्रश्न हुन्छ र? तर, ‘भगवान् मान्छु भन्दा मान्न पाउँछस्, यो त मेरो मात्र हो’ भन्ने सोच राखियो भने समस्या उत्पन्न हुन्छ।”
यसैबीच, नेपाली कांग्रेसभित्र आन्तरिक राजनीतिक सरगर्मी बढ्दै गएको छ। डा. शशांक कोइरालाको संयोजकत्वमा संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेलाको तयारी गरिरहेको छ।
अर्कोतर्फ, कांग्रेस संस्थापन पक्षले पनि समसामयिक विषयमा छलफल गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
यसैबीच, पार्टीको विशेष महाधिवेशनसम्बन्धी विवादबारे सर्वोच्च अदालतमा पुन: सुनुवाइ हुने अवस्था सिर्जना भएको छ।