गाईभैँसी खरिदमा अनुदान दिएपछि रुपाका किसान व्यावसायिक पशुपालनमा

गाईभैँसी खरिदमा अनुदान दिएपछि रुपाका किसान व्यावसायिक पशुपालनमा

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

कास्की, २३ साउनः कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना सुरु गरेर सोमार्फत किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो ।

यसबाट पालिकामा दूध उत्पादन वद्धि भएको छ भने किसानको आम्दानीसमेत बढेको छ । पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन् । रुपा-७ ठूलीबेँसीका किसान शङ्करलाल श्रेष्ठको गोठमा अहिले तीन वटा जर्सी गाई छन् । गाउँपालिकाले प्रतिगाई रु ४० हजार अनुदान उपलब्ध गराएपछि उहाँले गाई किनेर व्यावसायिक पशुपालन सुरु गर्नुभएको हो । श्रेष्ठले दैनिक २० लिटर दूध बजारमा बिक्री गर्नुहुन्छ ।

श्रेष्ठका अनुसार विगतमा उहाँका बुबाले पनि पशुपालन गर्नुहुन्थ्यो । त्यसबेला दूध बिक्री गर्न चार घण्टासम्म पैदल हिँडेर बेगनासताल पुग्नुपर्ने बाध्यता थियो । बजार अभावले उहाँले बुबाको पेसा छाड्नुभयो । अहिले भने दूध सङ्कलनका लागि गाडी गाउँसम्म आउने भएकाले बजार र सङ्कलनको समस्या हटेको श्रेष्ठले बताउनुभयो ।

“गाउँपालिकाले अनुदानपछि मसँगै यहाँका २० जना किसानले जर्सी गाई किनेर व्यावसायिक पशुपालन सुरु गरेका छौँ । दूध बिक्री गर्न पनि सहज छ । पालिकाको सहयोग पाएपछि व्यावसायिक पशुपालनमा लाग्न उत्साह बढेको छ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार दूध सङ्कलन र बिक्री गर्न किसानले देउराली कृषक समूह गठन गरेका छन् ।

पहिले ११ सदस्य रहेको समूह अहिले २० सदस्यीय बनेको छ । किसानका गोठमा गाईको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै श्रेष्ठले समूहलाई सहकारीमा रूपान्तरण गरी डेरी व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि दूध उत्पादन परियोजनाले रुपाको ठूलीबेँसीमा मात्र होइन अन्य वडामासमेत व्यावसायिक पशुपालनले गति लिएको छ ।

गाउँपालिकाका पशु चिकित्सक सुशील अर्यालका अनुसार यस कार्यक्रममार्फत हालसम्म गाउँपालिकामा २०० वटा गाई भित्रिएका छन् । पालिकाका विभिन्न ११ गाउँका किसानले गाईभैँसी खरिद र दुग्धजन्य उपकरण सहायताका लागि रु दुई करोड ३५ लाख अनुदान प्राप्त गरेका उहाँले जानकारी दिनुभयो ।

परियोजना सुरु भएपछि दैनिक दुई हजार ६६२ लिटर दूध उत्पादन थपिएको छ । अर्यालका अनुसार पालिकाले कृषकलाई गाई किन्नका लागि रु ४० हजार र भैँसीका लागि रु ५० हजारका दरले अनुदान उपलब्ध गराएको हो ।

“किसानलाई गाईभैँसी खरिदमा अनुदान उपलब्ध गराएपछि यसको सकारात्मक प्रभाव देखिएको छ, उत्पादन बढेको छ । नगद अनुदानसँगै उपकरण सहयोगले दूध सङ्कलनमा सहयोग पुग्नुका साथै किसानको आम्दानीमा वृद्धि भएको छ । युवाका लागि स्थानीयस्तरमा रोजगारीका अवसर पनि सिर्जना भएका छन् । प्रत्यक्ष रूपमा ३०० किसान यस कार्यक्रममा आबद्ध छन्”, अर्यालले भन्नुभयो । उहाँका अनुसार हाल रुपा गाउँपालिकाबाट दैनिक करिब पाँच हजार लिटर दूध पोखराका बजारमा बिक्रीका लागि पठाउने गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले किसानको श्रमलाई सम्मान गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित कृषि क्षेत्रमा लगानी बढाइएको बताउनुभयो । उहाँले विगतका वर्षमा पूर्वाधारमा पालिकाले लगानी गरेकामा यस वर्षदेखि उत्पादन र आयआर्जन वृद्धिका कार्यक्रमलाई बढी प्राथमिकता दिइएको बताउनुभयो ।

“किसानको मेहनतले मात्रै गाउँ समृद्ध हुन्छ भन्ने हाम्रो विश्वास हो । त्यसैले प्रत्येक घरपरिवारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले कृषि र पशुपालनमा केन्द्रित कार्यक्रम सञ्चालन गरेका छौँ । विगतमा पूर्वाधारमा केन्द्रित बजेटलाई यस वर्ष उत्पादन, कृषि र रोजगारी सिर्जनामा प्राथमिकता दिएका छौँ”, अध्यक्ष ओझाले भन्नुभयो । उहाँले गरिबी निवारणका लागि सञ्चालन गरिएको दूध उत्पादन परियोजना गाउँपालिकाका ११ स्थानमा विस्तार गरिएको जानकारी दिँदै यसको प्रत्यक्ष प्रभाव किसानको आय र जीवनस्तरमा देखिन थालेको उल्लेख गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले अब उत्पादन बढाउने मात्र नभई त्यसको दिगो बजारीकरणमा गाउँपालिका केन्द्रित हुने बताउनुभयो । “डेरीका आवश्यक पूर्वाधार गाउँसम्म पुगेका छन् । अब किसानले उत्पादन बढाउने र गाउँपालिकाले बजारीकरण तथा व्यवस्थापनमा आवश्यक सहजीकरण गर्नेछ । उत्पादन खेर जान नदिने हाम्रो प्रतिबद्धता छ”, उहाँले भन्नुभयो ।

रुपा गाउँपालिकाले दूध उत्पादन परियोजनाअन्तर्गत गाईभैँसी खरिदमा नगद अनुदानका साथै दुग्ध सहकारी र कृषक समूहलाई आवश्यक डेरी उपकरणसमेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममार्फत दूध बोक्ने भाँडा, दूध चिस्याउने ट्याङ्की, दूधको गुणस्तर वा चिल्लोपन मापन गर्ने यन्त्र, भोल्टेज नियन्त्रक (विद्युत् प्रवाह स्थिर राख्ने उपकरण), दूध जमाउने फ्रिज, पनिर बनाउने उपकरण, दूधबाट तर छुट्ट्याउने उपकरण (मलाई काढ्ने यन्त्र, जेनेरेटरलगायत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी