आलोचनापछि प्रधानमन्त्री बालेनको जवाफ: रुग्ण उद्योग तङ्ग्रिन थालेको दाबी गर्दै सार्वजनिक गरे ५ ठूला उपलब्धि

आलोचनापछि प्रधानमन्त्री बालेनको जवाफ: रुग्ण उद्योग तङ्ग्रिन थालेको दाबी गर्दै सार्वजनिक गरे ५ ठूला उपलब्धि

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

सरकारको कार्यशैलीलाई लिएर आफ्नै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्‌मा आलोचना गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत सरकारका उपलब्धि सार्वजनिक गरेका छन्।
गएराति अबेर भावुक स्टाटस लेखेका प्रधानमन्त्री बालेनले शनिबार बिहानै फेसबुकमार्फत राष्ट्रिय उद्योग र संस्थानहरूलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सरकारले गरेका प्रयास र प्राप्त ५ आशालाग्दा परिणामहरू प्रस्तुत गरेका हुन्।
“वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान्? धेरैको मनमा यो शङ्का र चिन्ता हुनु अस्वाभाविक होइन,” प्रधानमन्त्री बालेनले लेखेका छन्, “तर जब नियत सफा हुन्छ र जिम्मेवारीप्रति इमानदारी देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्।”

 प्रधानमन्त्रीले देखाएका ५ मुख्य ‘आशालाग्दा परिणाम’:

१. नेपाल औषधि लिमिटेडको नाफा ३ करोड

  • बिक्री र नाफा: पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री भएको छ। विश्व स्वास्थ्य सङ्गठनको GMP मापदण्ड प्राप्त गरेपछि गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको छ।
  • चालु आवको लक्ष्य: चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
  • निःशुल्क औषधि: आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने सरकारको १०० बुँदे कार्ययोजनाअनुसार यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्यमध्ये २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ। (हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।)

२. हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको परीक्षण उत्पादन

  • लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि तान (लुम) मर्मत गरी परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परीक्षण सफल भएपछि नेपाल सरकारले नै यो उद्योग सञ्चालन गर्नेछ।

३. नेपाल वायुसेवा निगमको आम्दानी १ अर्ब १० करोडले वृद्धि

  • गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो।
  • अकुपेन्सी (सिट उपयोगिता) ६ प्रतिशतले बढेर ८६ प्रतिशत पुगेको छ।
  • जहाज खरिदको ऋणबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको छ।

४. दुग्ध विकास संस्थान (DDC) मा दैनिक बिक्री ३५% ले बढ्यो

  • बक्यौता भुक्तानी: किसानको रोकिएको बक्यौता भुक्तानी चक्र ८ महिना (७२ करोड) बाट घटाएर २–३ महिना (३५ करोड) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।
  • राजस्व वृद्धि: दैनिक बिक्री ३५ प्रतिशतले बढेर औसत राजस्व सङ्कलन दैनिक ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ।
  • फजुल खर्च कटौती र निर्यात: कर्मचारीलाई दिइँदै आएको निःशुल्क घिउ-दूध सुविधा कटौती गर्दा वार्षिक ३ करोड रुपैयाँ बचत भएको छ। अब चाँडै खाडी मुलुकमा घिउ तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ।

५. सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणाले वृद्धि

  • सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आवमा औषधिको कारोबार करिब १३ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ गुणा बढी हो।
  • निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ अग्रसर रहेको वैद्यखानाले हाल १०५ प्रकारका औषधि उत्पादन गरिरहेको छ भने चालु आवमा १५० प्रकार पुर्‍याउने लक्ष्य लिएको छ।

 ‘सहयोग र विश्वासको अपेक्षा’

प्रधानमन्त्री बालेनले देशप्रतिको समर्पण र इमानदारी कायम रहे रुग्ण उद्योगहरूमा नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनले माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने सरकारको यो यात्रामा सम्पूर्ण नागरिकबाट रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गरिएको बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी