काठमाडौँ, २२ साउनः सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले उचित ढङ्ग पुर्याउन नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद झाले सरकारको नियत र इमानदारीमाथि कुनै शङ्का नभए पनि राज्य सञ्चालनलाई अझ प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।
संसद्मा बोल्दै उनले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि ‘राज्यप्रतिको भरोसा’ र ‘राष्ट्रप्रतिको आत्मविश्वास’लाई सरकारले मूलमन्त्र बनाउनुपर्नेमा जोड दिए। “अहिले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा तथा संविधानको संरक्षणमा के मूलमन्त्र आवश्यक छ भनेर हेर्दाखेरि मलाई के लाग्छ भने— राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास हो,” सांसद झाले भने, “यो दुई वटा कुरालाई मूलमन्त्र बनाएर हामीले राज्य सञ्चालन देखि सबै कुराहरू त्यसमा केन्द्रित गर्यौँ भने मात्र केही हासिल गर्न सक्छौँ।”
यसैगरी, उनले आफूलाई ‘सबै कुरा थाहा छ’ भन्ने अहङ्कारले राज्य सञ्चालनमा ठूलो समस्या निम्त्याउन सक्ने चेतावनी दिँदै सरकारलाई आफ्नो कमजोरी वा अज्ञानता स्वीकार गरेर सिक्ने संस्कारको विकास गर्न आग्रह गरे। सरकारको नियत र इमानदारीमा प्रश्न नरहे पनि कार्यशैली र व्यवस्थापनमा ढङ्ग नपुगेको जस्तो देखिएकाले त्यसलाई सहर्ष स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।
“तपाईँलाई के थाहा छैन भन्नेबारे पनि थाहा छैन भने साँच्चिकै तपाईँलाई केही थाहा छैन। त्यसकारण आफूलाई थाहा नभएको कुरा जान्नुपर्दछ। जुन दिन सोच्नुहुन्छ कि तपाईँलाई सबै कुरा थाहा छ, त्यो दिन तपाईँ मृत्यु समान हुनुहुन्छ,” सांसद झाले थपे। उनले राज्य सञ्चालनका कयौँ प्रक्रिया र संरचनाहरू सुधार गर्नुपर्ने आवश्यकता दोहोर्याउँदै सरकारले आफ्ना कमजोरीहरूलाई स्वीकार गर्दै सच्याएर अघि बढ्नुपर्ने बताए।