काठमाडौँमा हुने भनिएको १७ औँ अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन रोकियो

काठमाडौँमा हुने भनिएको १७ औँ अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन रोकियो

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

काठमाडौँमा आगामी भदौ ७ देखि १३ गतेसम्म हुने तयारी भएको १७ औँ इन्टरनेसनल एसोसिएसन फर टिबटेन स्टडिज (आईएटीएस) सम्मेलन रोकिएको छ। सरकारको निर्देशनपछि आयोजक काठमाडौँ विश्वविद्यालय (केयू) ले सम्मेलन स्थगित गरेको हो।

सोमबार सिंहदरबारमा मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र सचिव अमृतबहादुर राईले केयूका निमित्त उपकुलपति ऋषिकेश वाग्ले, रजिस्ट्रार राजीव श्रेष्ठ र सम्मेलन संयोजक एवम् ‘हिमालय सेन्टर फर एसियन स्टडिज’ (हिकास) का निर्देशक सागरराज शर्मालाई बोलाएर परिस्थिति अनुकुल नभएकाले कार्यक्रम नगर्न निर्देशन दिएका थिए। मुख्यसचिवको सो निर्देशन प्रधानमन्त्री बालेन शाहकै आदेशमा आएको बुझिएको छ।

निर्देशनपछि केयूले सम्मेलन आयोजना गर्न असमर्थ रहेको जानकारी आईएटीएस बोर्डलाई गराइसकेको छ। हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ इन्स्टिच्युटको स्थानीय आयोजनामा हुन लागेको यो सम्मेलनका लागि काठमाडौँका सोल्टीसहितका पाँच तारे होटलहरू बुकिङ भइसकेका थिए। सम्मेलनमा मुख्यभूमि चीनबाट १०० र अमेरिकाबाट १५० जनासहित कुल ७२८ जनाले नाम दर्ता गराइसकेका थिए। नेपालमा पहिलो पटक हुन लागेको यो सम्मेलन यसअघि एसियाका जापान (१९८९) र मंगोलिया (२०१३) मा भइसकेको छ।

अन्तिम अवस्थामा आएर सम्मेलन रद्द हुनुमा चिनियाँ चासो र दबाब मुख्य कारण रहेको विश्लेषण गरिएको छ। गत असार १९ गते न्युयोर्कमा लोब्साङ राङजेन नामक तिब्बतीले आत्मदाह गरेपछि विश्वभर चीनविरोधी गतिविधि बढेका छन्। आगामी सेप्टेम्बरमा दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी हुने कार्यक्रम रहेको र तिब्बतसँग सीमा जोडिएको नेपालमा चीनविरोधी आवाज नउठोस् भन्ने बेइजिङको चाहना देखिन्छ।

यसअघि चिनियाँ राजदूत चाङ माओमिङको दबाबपछि धर्मशालास्थित केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले सम्मेलनमा प्रतिनिधि नपठाउने निर्णय गरेको थियो। साउन ५ गते परराष्ट्र सचिव राईसँगको भेटमा चिनियाँ राजदूतले राखेको गहिरो चासो र दबाबकै कारण अन्ततः सरकारले सम्मेलन नै रोक्न निर्देशन दिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी